ब्याजदर कटौतीको आशमा बढ्यो सुनको भाउ

काठमाडौं, फागुन २१ । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो ।

 

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा उक्त दिन सुनको भाउ प्रतिऔंस १ हजार ६ सय ढलरसम्मको उच्च बिन्दुमा पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार ५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ४७ प्रतिशत बढी १ हजार ५९९ डलर ७३ सेन्टमा पुगेको थियो । सोही अवधिमा यूएस गोल्ड फ्यूचर्स पनि प्रतिऔंस १ हजार ५९४ डलर ८० सेन्टमा किनबेच भइरहेको थियो ।

 

प्राविधिक रुपमा स्पट गोल्डले प्रतिऔंस १ हजार ६३१ डलर सम्म जान सक्ने र यसले १ हजार ५८४ मा टेवा पाउने रोयटर्सका प्रविधि विश्लेषक वाङ ताओले बताएका छन् । भाइरसको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन ब्याजदर कटौती गरिने हालैका दिनमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ का अध्यक्ष जेरोम पावेल र युरोपेली केन्द्रीय बैंक (इसीबी) अध्यक्ष क्रिस्टियन लागार्दले संकेत दिएका थिए । कोरोना भाइरसका कारण केन्द्रीय बैंकहरु ब्याजदर कटौतीको हतारमा रहेको र यसले सुनको भाउलाई टेवा दिइरहेको एसएमसी कोमट्रेडमा कमोडिटी रिसर्चका सहायक उपाध्यक्ष बन्दना भारतीले बताइन् । आजको आर्थिक अभियान दैनिकबाट