विश्वभरि औषधिको अभाव हुने त्रास

भारत, फागुन २२ । विश्वमा जेनेरिक औषधिको अभाव हुने त्रास बढेको छ । कोरोना भाइरस संक्रमण फैलिरहने क्रम जारी रहेकै बेलामा भारतले औषधि बनाउन प्रयोग हुने २६ सामाग्री र यसबाट बनाइएका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

 

भारत जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता हो । तर उसले धेरैजसो औषधि बनाउने कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको छ । कोरोना भाइरसको महामारीका कारण चीनमा औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ बनाउने कारखाना पनि बन्द भएका छन् ।

 

खुलेका कारखानाहरुले पनि उत्पादन घटाएका छन् । महामारी जारी रहे औषधि निर्माता उद्योगले अभाव झेल्नुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । यस्तोमा भारतले निर्यातमा रोक लगाएपछि विश्वमा यी औषधिको अभाव चुलिने त्रास बढेको हो ।

 

‘चीनमै उत्पादन नहुने औषधिमा समेत चीनबाट आउने कच्चा पदार्थ प्रयोग हुन्छन्, चीन र भारत दुबै प्रभावित भएभने विशवभर अभाव हुन सक्छ,’ बजार अनुसन्धाता संस्था चाइना मार्केट रिसर्च गु्रपका विश्लेषक शाउन रेनले चेतावनी दिएका छन् ।

 

प्रतिबन्ध लगाइएका औषधिमा प्यारासिटामोल पनि रहेको छ । यो विश्वभर दुखाइ कम गर्न व्यापक प्रयोगमा हुने औषधि हो । निर्यात नियन्त्रणका लागि सूचीकृत सामाग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशत हो ।

 

यसमा टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी १२ पनि परेका छन् । कच्चा पदार्थको अभाव हुन थालेपछि बजारमा औषधिको मूल्य बढ्न थालिसकेका छन् । ‘भारतमा आपूर्ति कमी हुनथालेपछि औषधिको मूल्यमा उल्लेख्य वृद्धि भएको संकेत पहिला नै देखिसकेको छ,’ अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री स्टेफन फोरम्यानले बताएको भन्दै बीबीसीले एक समाचारमा उल्लेख गरेको छ ।

 

अहिलेसम्म चीनबाहेक ८० देशमा कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भइसकेको छ । भाइरसको संक्रमण एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकामा पनि फैलिएको छ ।

 

भाइरसको संक्रमणले ९० हजारभन्दा बढी व्यक्तिलाई भेटेको छ भने यसका कारण करीब ३ हजार २०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । आजको आर्थिक अभियान दैनिकबाट