अखिल (क्रान्तिकारी)ले फिर्ता लियो आजको शैक्षिक आमहड्तालको कार्यक्रम,अन्य संघर्षका कार्यक्रम यथावत

काठमाडौं,फागुन २३ । संगठनका अध्यक्ष र उपाध्यक्षको विनाशर्त अविलम्ब रिहाईको माग राख्दै अखिल (क्रान्तिकारी)ले भोलि (२३ गते)का लागि आव्हान गरेको आम शैक्षिक हड्ताल फिर्ता लिएको जनाएको छ । संगठनको तर्फबाट महासचिव पेशल दाहालले बिहीबार जारी गरेको वक्तव्यमा कोरोना भाइरसका कारण बार्षिक परीक्षा तालिका भन्दा अगावै चैत्र ५ गतेभित्र परीक्षा सक्ने गरी विद्यालयहरुले तयारी गरेको र कतिपय विद्यालयमा परीक्षा सुरु भएकोले परीक्षा प्रभावित हुने देखिएको र विद्यार्थी, अभिभावक र विद्यालयहरुको समेत अनुरोधलाई सम्बोधन गर्दै २३ गतेकोे लागि आव्हान गरेको आम शैक्षिक हड्ताल तत्कालका लागि फिर्ता लिइएको जनाइएको छ ।

 

वक्तव्यमा भनिएको छ, “विश्वव्यापी संकटको रुपमा अगाडि आएको नोबेला कोरोना भाइरसले हाम्रो देशमा पनि पैदा गरेको त्रासदीपूर्ण मनोविज्ञान, जसको आधारमा चैत्र ५ भित्र विद्यालयहरुले अनिवार्य रुपमा बार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने सरोकारवाला निकायको निर्णय, आम अभिभावकहरुको सुझावपूर्ण अनुरोध र विद्यार्थीहरुको बोर्ड परीक्षालाई समेत विशेष ध्यान दिंदै नेपाली विद्यार्थीहरुको प्रिय र एक जिम्मेवार विद्यार्थी संगठन हुनुको हैसियतले २०७६ फागुन २३ मा हाम्रो संगठनको तर्फबाट गर्ने भनिएको आम शैक्षिक हड्ताल हाललाई स्थगित गरिएको सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

वक्तव्यमा नेताहरुको रिहाई नभएसम्म अन्य संघर्षका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउने जनाइएको छ ।