कविता : चरा र मान्छे
चराहरू आँफ्नो भाकामा गीत गाउँछन
मान्छेहरूलाई कर्कस बेसुर लाग्छ
मान्छेहरू बुझ्दैनन चराको गीत ।
जति टाढा गएपनी फर्किन्छन
साँझमा आफ्नैं गुँड
बिर्सिदैनन चराहरू घरको ठेगाना
मान्छेहरू बुझ्दैनन चराको प्रेम ।
आफ्ना बचेरालाई उड्न सिकाउँछन
आफै पढाउँछन,आफै बढाउँछन
मान्छे जस्तो सभ्यता सिकाउँन पठाउँदैनन
कुनै उत्तरआधुनिक पाठशाला ।
बिवेकशिल मान्छे जस्तो
पठाउँदैनन चराहरू बा’आमालाई बृद्धाश्रम
र गर्दैनन दाजु भाइ धर्ति र आकाशको अंशबन्डा ।
मान्छेहरू मलामी जान बिर्सिएको बेला
चराहरू मलामी जान्छन र गाउँछन शोकधुन
मान्छेहरू बुझ्दैनन् चराको संस्कार ।
मान्छेरूले चराको सिको गरेर
आकाशको बाटो हुँदै मरूभूमिमा पुगेँ पसिनाको सिँचाई गर्न
चराहरू खोला खोल्साको पानी खाएर किन देशमै बसेँ ?
सभ्यता हराउँदै गएको संसारमा
चराहरू सभ्य भएर बाँचेका छन
चराहरू आँफ्नो भाकामा गीत गाउँछन
मान्छेहरूलाई कर्कस बेसुर लाग्छ
मान्छेहरू बुझ्दैनन् चराको गीत ।
चराहरू मान्छे बन्न खोज्दैनन
मान्छेहरू किन चरा बन्न खोज्छन ?
अन्त्यमा म सोचीरहेछु
चरा देखेर उड्न सिकेका मान्छेहरूले
चराबाट सभ्यता कहिँले सिक्छन ?