कर्णालीलाई ,उडुवा चामल,ले कुपोषित बनायो : भोकमरी होइन,भातमरी फैलियो

 सुर्खेत,फागुन, २४। कर्णालीमा कुपोषणको डरलाग्दो अवस्था छ । कुपोषणकै कारण शारीरिक र मानसिक रुपमा कमजोर मात्र होइन, अकालमै ज्यान पनि गुमाउनुको परेको समाचार बग्रेल्ती सुन्न सकिन्छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले कर्णालीमा प्रत्येक वर्ष जन्मिएका ५ वर्षमुनीका बालबालिका १ हजार जनामध्ये ५८ जनाले ज्यान गुमाउँदै आएको देखाएको छ । शिशु मृत्युदर पनि प्रतिहजारमा ४७ जना उल्लेख छ ।

 

पोषणयुक्त खानेकुराको अभाव, राम्रो स्वास्थ्य उपचार केन्द्रको अभाव र स्वास्थ्य शिक्षाको अभावले कर्णाली प्रदेशमा सबैभन्दा बढी पुड्कोपनाले विकराल रुप लिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार ५ वर्षमुनीका बालबालिकामा ५५ प्रतिशत पुड्कोपना देखिएको छ ।

 

कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न पौष्टिक आहारयुक्त भने नहुने होइनन् । त्यहाँ उत्पादन हुने मकै, मार्सी चामल, सिमी, आलु, लट्टे लगायतका खाद्यान्न पौष्टिक रुपले अत्यन्तै लाभदायक मानिन्छन् । तर, पनि कर्णाली प्रदेश किन भोकमरी र कुपोषणको शिकार भइरहेको छ त रु यही विषयलाई लिएर ऋति फाउन्डेसनले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली उत्सव आयोजना गरेर ‘दबाइ र देउता, भोक र भकारी’ शीर्षक बहस चलायो ।

 

बहसमा ‘कर्णालीको भोकमरी’बो डिस्कोर्स सुरु गरेकी पोषणविद् डा अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्ले र कृषिविज्ञ डा कृष्णप्रसाद पौडेल सहभागी थिए । र, तीनै जना वक्ताको निष्कर्ष थियो, ‘उडुवा चामलले कर्णालीको पोषण बिगार्‍यो । स्थानीय उत्पादनलाई उडुवा चामलले विस्थापित गर्‍यो र खाना भन्ने (भात) चामलमात्रै हो भन्ने भ्रम बनाइदियो ।’ उनीहरुको भाषामा ‘उडुवा चामल’को अर्थ आयातित चामल हो, जुन नेपालगञ्ज, सुर्खेत लगायतका विमानस्थलबाट उडाएर गाउँगाउँसम्म पुर्‍याइन्छ ।

 

सेसन सहजीकरण गरिरहेका केशव ढकाल लामो समय कर्णालीका कृषि र खाद्यबारे अध्ययन गरेका कृषि विज्ञ कृष्णप्रसाद पौडेललाई सोधे, ‘कर्णालीमा १० वर्ष स्थलगत अध्ययन गर्दा यहाँको कृषि र खाद्यवस्था अध्ययनका क्रममा कस्तो पाउनुभयो?

 

जवाफमा डा.पौडेलले कर्णालीको समग्र खेतिपातीलाई विकसित र वैज्ञानिक गराउने नाममा पश्चिमा शैली अपनाएर समस्या बढ्दै गएको सुनाउँछन् । ‘यहाँको कृषि युरोप, अमेरिका, भारतमा भएजस्तो कृषि क्रान्तिका आधारमा काम गरिरहेका छौं । यो हाम्रो समस्या हो,’ उनी भन्छन्, ‘यहाँको कृषि भनेको कुटो, कोदालोले नै धान्ने कृषि हो । कुटो, कोदालोबाटै यहाँको खाद्यान्न धान्न सकिन्छ ।

 

कर्णालीबासीले कुटो, कोदालो प्रयोग गरेर जमिन खन्दा जम्मा ढेड इन्च खनिने र त्यही मात्रा कर्णालीमा उत्पादन गर्न प्रयाप्त रहेको डा पौडेलको अनुभव छ । ‘यहाँको माटो र भौगोलिक बनावट नै त्यस्तै छ । ढेड इन्चभन्दा बढी खन्यो भने उत्पादन हुन सक्दैन,’ उनले भने । उनले कर्णालीको कृषि महिलाले धानिरहेको समेत सुनाए ।

 

कर्णालीमा उत्पादन हुने काबुनो, कोदो, सिमी, मार्सी, लट्टेले नै धान्न सक्ने भएपछि अहिले खेती परम्परा नै धरापमा परेको पौडेलको विश्लेष छ । ‘अहिले कर्णालीमा खेती छैन । यहाँ केवल विदेशीले दानमा दिएका अन्न छन् । जसलाई हामी उडुवा चामल भन्छौं,’ भन्छन्, ‘त्यही उडुवा चामलको पछि लागेर हामीले पुरुषत्व देखाएका छौं । त्यसलाई हामीले जहाज र हेलिकप्टरमा उडाएर गाउँमा लैजान्छौं । र त्यही उडुवा चामलमाथि झगडा गर्छौं ।’ उनले खेती गर्ने परम्परागत वैज्ञानिक तरिकामात्रै नभएर प्रयोग हुने नुग्रे, कुटो लगायतका साधन पनि व्यापारका साधनमात्र बनाइएको उनी सुनाउँछन् ।

 

डा पौडेलले प्रदेश सरकारले ‘अर्गानिक कर्णाली’लाई अझै सम्मान नगर्ने हो भने समस्या अझै विकराल रुपमा फैलिने चेतावनी दिए । ‘सिंहदरबारबाट सापटी लिएर नेपालगञ्ज एअरपोर्टबाट गाउँगाउँमा ल्याएको बुद्धिले यहाँको समस्या हल हुन सक्दैन,’ उनले भने, ‘सिंहदरबारको पछि लागेर यहाँका जनता विष मगाउने र त्यही खानेमै आफ्नो बुद्धि बन्धकी राखेका छन् ।

 

चामललाई मात्रै खाद्यान्न मानेर पछिल्लो समय कर्णाली ‘थलिएको’ भन्ने निष्कर्ष निकालेकी पोषणविद् डा अरुणा उप्रेती पनि स्थानीय खाद्यान्नलाई नै प्रवर्द्धन गरे कर्णाली भोकमरीको समस्या नरहने दाबी गर्छिन् ।

 

उनी पनि उडुवा चामलले कर्णालीबासीको भोक मेट्नुको साटो झनै भोकमरीमा धकेलिरहेको तर्क गर्छिन् । ‘कर्णालीको मान्छेलाई किनुवा, मासी, आलु, सिमीजस्ता खाद्यान्न काम नलाग्ने खानेकुरा हुन् भन्ने लागेको छ । आफ्नो उत्पादनप्रति विश्वास नभएपछि उनीहरु उडुवा चामलप्रति निर्भर हुन थालेका छन्,’ उप्रेती भन्छिन्, ‘उडुवा चामललाई म सेतो चामलको काला जादू भन्छु । त्यो चामलका स्थानीय र मौलिक खानामा जस्तो कुनै पनि पोषण हुँदैन ।

 

डा उप्रेतीले विभिन्न नाममा उडेर गाउँ पुग्ने उडुवा चामलले स्थानीय उत्पादन घटिरहेको, पौष्टिक तत्वमा कमी आइरहेको सुनाइन् । ‘सरकारले चामलमात्रै दिन्छ । हामीलाई चाहिने चामलमात्रै होइन । भातसँग खाने अरु खानेकुरा खोइ त रु’ उनले भनिन्, ‘सुत्केरीलाई पनि त्यही चामल, गर्भवती महिलालाई पनि त्यही चामल, बिरामीलाई पनि त्यही चामल । यसले कुपोषणको समस्या विकराल बनाउँदैछ ।

 

उडुवा चामलकै कारण एक पुस्ता कुपोषणग्रस्त भइसकेपछि त्यसले आउने पुस्तालाई पनि प्रभावित बनाउँदै लगिरहेको डा उप्रतीले सुनाइन् । ‘उडुवा चामलले यहाँको राजनीतिक, सामाजिक, स्वास्थ्य र आर्थिक जम्मै क्षेत्रमा प्रभाव पारिरहेको छ,’ उनले भनिन्, ‘त्यसैले यहाँका नागरिकले आफैं उत्पादन थालेर सरकारलाई तिम्रो चामल तिमी नै राख भन्ने आँट गर्न सक्नुपर्छ ।

 

कर्णालीमा ‘भोकमरी नभई भातमरी’ फैलिएको डा उप्रेती बताउँछिन् । स्थानीय उत्पादनलाई ध्यान नदिई आयातित खाद्यान्नलाई महत्व दिँदा कर्णालीमा कुपोषणको समस्या विकराल हुँदै गएको तर्क राखिन् । सामान्यतयाः खाना पेट भर्नका लागि मात्रै जस्तो देखिएपनि त्यो संस्कृतिसँग जोडिएको हुने विचार राखिन् । ‘जब हाम्रा स्थानीय र मौलिक खाना, भोजन हराउँछन्, सँगसँगै संस्कृति र भाषा पनि हराउन थाल्छ,’ उनले भनिन् ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्ले कर्णालीको कुपोषण समस्या हटाउन आफूहरु लागि परेको तर, आमाहरुमै कुपोषण् भएकाले तत्काल समाधान गर्न नसकिएको सुनाए । ‘दबाइले सबै रोग निको पार्छ भन्ने होइन, सबैभन्दा पहिले प्रभाव पार्ने भनेको खाद्यान्नले नै हो,’ उनले भने, ‘यहाँ कुपोषणको समस्या धेरै देखिएको छ । कुपोषित आमाहरुबाट जन्मिएका सन्तानमा कुपोषण सरेको छ । त्यसलाई हामी तत्काल चिर्न सकिरहेका छैनौं ।’ उनले कुपोषण समस्या न्यूनीकरण गर्न समन्वय, सहकार्य लगायतका प्रक्रिया अघि बढाइरहेको जनाए ।अनलाइनखबरबाट,