पिउने हैन त २ रुपियाँमा एक कप पानी

काठमाडौं, फागुन २५ । राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ। राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो। अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका शहरी योजना आयोगले जनाएको छ।

 

बोर्डले शंखपार्क, स्वयम्भू भगवान्पाउस्थित भुइँखेल, बालाजुपार्क, रत्नपार्क र मीनभवनस्थित ट्रलीबस भवन परिसर एवम् पुष्पलाल पार्कमा स्वचालित वाटर एटीएम स्थापना गर्न लागेको हो। आयोगका सचिवालय प्रमुख इन्जिनियर रवीनमान श्रेष्ठले बोर्डसँग सम्झौता भइसकेकाले एक महिनाभित्र एटीएम जडान हुने बताउँदै भन्नुभयो– ‘सबै प्रक्रिया पूरा भइसकेकाले अब जडान शुरू हुन्छ।

 

२ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपियाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्नेसमेतको प्रविधि जडान गरिएको छ। दुई रुपियाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपियाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले नगन्य मात्रामा क्वाइन निकाल्न थालेपछि अहिले दुई रुपियाँको क्वाइन अभाव रहेको छ।

 

‘तर नोट छिराएपछि दुई रुपियाँ काटेर पानी आउने नयाँ प्रविधि जडित एटीएम राख्न लागेका हौं।’ –श्रेष्ठले भन्नुभयो।

कामपा र बोर्डबीच भएको सम्झौताका तीन वर्षसम्म मेसिन जडान गरी सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा बोर्डले लिएको छ। बोर्डले जडान गरेको सो एटीएमबाट रकमअनुसार पानी लिन मिल्नेसमेत व्यवस्था गरिएको छ।

 

बोर्डले मेसिनको लागत, जडान र तीन वर्षसम्मको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापछि बोर्डले मेसिन जडान गर्ने तयारी गरेको हो।

विशेष गरी पार्क र विभिन्न स्थान घुम्ने बटुवालाई मध्यनजर गरी महानगरको आयोगको समन्वयमा एटीएम जडान गर्न लागिएको श्रेष्ठको भनाइ छ। यसअघि ललितपुर महानगरपालिकाको परिसरमा जडान गरिएको एटीएममा दुई रुपियाँ क्वाइन नभएकाले सो मेसिन पूर्णरूपमा प्रचलनमा आउनसकेको छैन।

 

बोर्डले चालु आवमा उपत्यकामा करिब १५ वटा मेसिन जडान गर्ने योजनाअनुसार ललितपुर महानगरपालिकाका एक र कामपाको विभिन्न स्थानमा ६ गरी सातवटा मेसिन जडान गर्ने योजना बनाएको छ। जनतालाई स्वच्छ पानी खुवाउने आधारभूत अधिकारलाई मध्यनजर गर्दै उपत्यकामा स्वचालित एटीएम मेसिन जडान गर्न लागिएको कामपाको भनाइ छ।

 

सम्झौतामा मेसिन जडानपछि सो विषयमा जानकारी दिन कामपाले एकजना फोकस व्यक्ति छनोटसहित स्थान, सुरक्षा बिजुली र अन्य उपकरण उपलब्ध गराउनेछ। नेपाल समाचारपत्रमा खबर छ।