कोरोना भाइरसका कारण : साउदी अरेबिया र कतारले नेपालसहित कुन-कुन देशमा लगाए आवत जावतमा रोक

काठमाडौं,फागुन २६ । नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।    त्यस्तै साउदी अरेबियाले नेपालसहित विभिन्न ९ देशसँगको आवातजावतमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध नलगाएका देशहरुबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न दिने निर्णय गरेको छ ।

युएई, बहराइन र कुवेत हुँदै साउदी जाने यात्रुले भने तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न पाउने छन् । उनीहरुलाई किङ खालिन इन्टरनेसनल एयरपोर्ट, किङ अब्दुलाजिज इन्टरनेसनल एयरपोर्ट र किङ फहाद इन्टरनेसनल एयरपोर्ट मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै इजिप्ट हुँदै त्यहाँ जाने यात्रुले स्वास्थ्य परीक्षणको प्रमाण पत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था साउदीले गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदीले सोमबारबाट लागु हुने गरी ९ वटा देशसँग आवागमनमा रोक लगाएको हो।

प्रतिबन्ध लगाइएका देशमा युएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेवनान, इटाली, दक्षिण कोरिया र सिरिया रहेका छन् ।
आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको थियो। शिक्षामन्त्री हमाद अल शेखले कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर अरु निर्णय गर्दै जाने बताए ।

कतारले भने नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । कतारले सबै खालका भिसामा जाने यात्रुलाई प्रतिबन्ध लगाएको हो । भिजिट भिसामा जाने र वर्किङ भिसामा जाने श्रमिक सोमबारदेखि नै रोकिएका छन्।

कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई सोमबारदेखि नै लागु हुनेगरी आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

त्यहाँको सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उसले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो । कतार नेपालीहरुको रोजगारीको एक प्रमुख श्रम गन्तव्य मुलुक हो । कतारमा हालसम्म १५ जनामा संक्रमण भएको फेला परेपनि कसैको मृत्यु भएको भने छैन ।