गच्छेदारको सुरक्षामा खटिएका शसस्त्र प्रहरी फिर्ता गरियो

काठमाण्डौं फागुण २८ । सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् ।

 

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । उनी अदालतमा हाजिर भएका छैनन् ।

 

०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।