कांग्रेसको दुर्घटनाबाट नेकपा सच्चियोस् :रामचन्द्र पौडेल

काठमाडौं, फागुन,२८  । मिर्गौला प्रत्यारोपणमा अस्पताल भर्ना हुनुअघि नेकपामा ठूलै स्केलको विवाद चर्किरहँदा प्रधानमन्त्रीको सचिवालयले मिडियामा सूचना चुहायो-एकजना व्यापारीको पहलमा प्रचण्ड र शेरबहादुर देउवाको डिनर मिटिङ भयो । त्यही मिटिङपछि एकाएक बामदेव गौतमलाई  संविधान संशोधन नभए पनि राष्ट्रियसभामा मनोनित कोटामा जान सहमत गराइयो ।

 

त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले देउवाको विरोध गर्दै हिँडिरहेका कांग्रेस नेता शेखर कोइरालालाई बालुवाटारमै बोलाएर लामो छलफल गरे । उनले देउवाले प्रचण्डसँग डिनर गरिरहेको र आफूविरुद्ध ब्यापारिक घरानासहित मिलेर पार्टीभित्र अप्ठेरो पार्न खोजेको गुनासो कोइरालासँग गरे ।

यद्यपि प्रचण्डले जस्तै डिनर ओलीले पनि देउवा दम्पत्तिलाई बेला-बेला दिएकै हुन् ।

यी दुवै घटनाक्रमलाई नजिकबाट नियालिरहेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्ना सभापति देउवा प्रतिपक्षी भूमिकामा कमजोर, तर सत्तापक्षसँग साँठगाँठ र चोचोमोचो मिलाउन बढी सक्रिय भएको महशुस गरिरहेका छन् ।

 

देउवाका आफ्नै कमजोरी र कमजोर नैतिक धरातलका कारण सशक्त प्रतिपक्षी नेता बन्न नसकेको पौडेलको ठम्याइ रहेछ ।
मंगलबार बिहान बोहोराटारस्थित निवासमा अनलाइनखबरकर्मीसँग अनौपचारिक कुराकानीमा नेता पौडेलले कांग्रेसमा विचार र आदर्श बोक्ने नेतालाई माथि उठ्न नदिन शक्तिकेन्द्रहरु लाग्ने गरेको सुनाए ।

 

नेता पौडेललाई कता-कता देउवा नै कांग्रेसको नेतृत्वमा रहिरहुन् भन्ने चाहना सत्तापक्षमा रहेको आशंका पनि रहेछ । किनकि, देउवा सजिला प्रतिपक्षी नेता हुन्, जुन अभिष्ट पौडेलबाट पूरा हुँदैन ।

 

निष्ठा, आदर्श र विचारको कुरा गर्दा पार्टीभित्रै पनि आफू कमजोर भएको र आफ्नै समूहभित्र विभाजन ल्याएर देउवाले पुनः नेतृत्व कब्जा गर्ने भय पनि पौडेलमा देखियो ।

 

जसरी हिजोको संस्थापन (कोइराला)पक्षबाट कृष्ण सिटौलालाई बाहिर लगेर देउवा सभापति बन्न सफल भए, त्यो अवस्था पुनः दोहोरिन नदिन पौडेल सचेत देखिन्छन् ।

 

कांग्रेस महाधिवेशनको चहल-पहल शरु भइसकेको अवस्थामा उनी नेकपाभित्रको पछिल्लो शक्ति संघर्षमा पार्टी सभापति देउवा प्रयोग हुने खतरा देखिरहेका छन् । कांग्रेसले आफ्नै अन्तरकलहका कारण पटक-पटक बहुमत प्राप्त गरेर पनि राजनीतिक स्थायित्व दिन नसकेको तीतो अनुभव बोकेका पौडेल नेकपा त्यो बाटोमा नजाओस् भन्ने चाहान्छन् ।

 

अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने, ‘नेकपाका यी नेताहरुको अशन्तुष्टिलाई म्यानेज गर्न केपी ओलीलाई गाह्रो भइरहेको छ । अहिलेको द्वन्द्वचाहिँ त्यही हो । यो द्वन्द्वले फेरि कता-कता के-के गर्ने हो । हिजो कांग्रेस जसरी दुर्घटनामा गयो त्यो इतिहासबाट यी नेता सच्चिएर केपी ओलीदेखि लिएर प्रचण्डसम्म सच्चिन जरुरी छ ।’

 

एकपटक पुनः कांग्रेस सभापति बन्नका लागि आफ्नो समूहलाई एकजुट बनाउन लागिरहेका बरिष्ठ नेता पौडेल नेकपा नेताहरुको एक अर्काप्रतिको इष्र्याका कारण मुलुक अस्थिरतातर्फ जानुहुँदैन भन्ने पक्षमा देखिए ।

पछिल्लो राजनीतिक अवस्थाप्रति पौडेलको विचार जस्ताको त्यस्तै-

नेताको इर्ष्याले द्वन्द्व, द्वन्द्वले अस्थिरता

नेपालको राजनीतिमा असफलता र अस्थिरताको कारणमध्ये एउटाचाहिँ अशहिष्णुता भन्ने विषय हो । जो सत्तामा पुग्छ त्यो पनि अशहिष्णु हुन्छ । कसरी मेरो सत्तालाई केन्द्रीकृत गर्छु भन्नेमात्रै धारणा राख्ने । अनि जो बाहिर बस्छन् तिनीहरुले आफूलाई असुरक्षित ठान्ने । बाहिर बस्ने भन्नेले सत्तारुढ पार्टीकै पनि जो कुर्सीमा छैनन् ।

 

पार्टीभित्रै पनि त्यसलाई कसरी कमजोर पार्ने, त्यसलाई कसरी निरंकुश हुनबाट रोक्ने यो दुईटाको द्वन्द्व हरेक पार्टीमा देखिने गरेको छ । त्यही द्वन्द्वले देशलाई अस्थिर बनाएको छ । त्यही द्वन्द्वमा खेल्ने शक्तिहरु यहाँ विद्यमान छन् । जसले गर्दा नेपाल स्थिर हुन सकेको छैन । हाम्रो चारित्रिक दोषहरुले, हाम्रा महत्वाकांक्षाहरुले हामीले नै आफूलाई अस्थिर बनाएका छौं ।

 

यसबाट कसरी देशलाई जोगाउने रु हामीले लोकतान्त्रिक संस्कारको विकास गरेर सबैलाई सहिष्णु भावले, सबैलाई विश्वासमा लिएर काम कसरी गर्ने भन्ने सोच्नुपर्ने हो । नेता एउटा भइसकेपछि त्यसले विश्वासमा अरुलाई लिनेभन्दा आफू कसरी बलियो हुनेतर्फ लाग्छ ।

 

आफू बलियो हुने कुरा उसले जति जति गर्छ, त्यति त्यति उसैका समकक्षीहरु दुश्मन बन्दै जान्छन् । नेताहरुबीचमै इर्ष्या बढ्दै जान्छ । यही कुरामा अरु शक्तिहरुले खेल्छन् र नेपालमा अस्थिरता हुन्छ । त्यसले गर्दा नेपालको राजनीति स्थिर हुन पाएन । यसलाई स्थिर बनाउने काममा मेरो चिन्ता छ ।

कांग्रेसको त्यो बाटोमा नेकपा नजाओस्

नेकपाका नेताहरुको असन्तुष्टिलाई म्यानेज गर्न केपी ओलीलाई गाह्रो भइरहेको छ । अहिलेको द्वन्द्वचाहिँ त्यही हो । यो द्वन्द्वले फेरि कता(कता के(के गर्ने हो । हिजो कांग्रेस जसरी दुर्घटनामा गयो, त्यो इतिहासबाट यी नेता सच्चिएर केपी ओलीदेखि लिएर प्रचण्डसम्म सच्चिन जरुरी छ
म चाहान्छु, एउटा सिस्टम बनोस् । ७० वर्षसम्म लडेर अहिले एउटा सिस्टम स्थापित गरेका छौं । संविधान बनेको छ । यो संविधानले एउटा बाटो देखाएको पनि छ । त्यो बाटोमा हिँड्न अझै पनि नेतृत्व राजी भइराखेको छैन । नेतृत्व वर्ग चाहे त्यो सत्तापक्ष वा प्रतिपक्ष आफ्नो सुबिधाको बाटो हिड्न चाहान्छ ।

 

आफ्नो सुविधाको बाटो हिँड्ने प्रवृत्तिले गर्दा सिस्टम बन्न सकेन । सिस्टम बन्न नसक्दा देश अस्थिर हुने भयो । अहिले म देखिरहेको छु, नेकपामा त्यस्तै भइरहेको छ, जुन हिजो नेपाली कांग्रेसमा थियो । गिरिजाबाबु एकातिर, गणेशमान र किसुनजी अर्कोतिर हुँदा मुलुक नै अस्थिर भयो ।

 

गणेशमानजी र किसुनजीलाई के पथ्र्यो भने गिरिजाबाबुले एकलौटीकरण गर्दै लगे । यो एकलौटीकरणलाई कसरी रोक्ने भन्नेमा उहाँहरु जानुभयो । गिरिजाबाबुलाई के लाग्ने भने मेरो बाटोमा यिनीहरु बाधा डाल्ने रु गिरिजाबाबुलाई उक्साउने पनि कम थिएनन् यहाँ । उहाँको महत्वाकांक्षालाई प्रभोक गरिदिने । प्रधानमन्त्री त सबैथोक हो नि, अरुले बाहिरबाट हेर्ने भन्दिने ।

 

त्यत्रो आन्दोलनबाट ल्याएको व्यवस्थामा प्रधानमन्त्रीनै जम्मैथोक हुन थाले भन्ने अर्कोतिर । त्यहीँबाट हाम्रो पार्टीमा समस्या सुरु भयो ।

नेकपामा पनि अहिले त्यस्तै भइरहेको देख्छु । केपी ओलीलाई तपाई नै हो नि सर्वश्व भन्ने भए एकथरीले । उहाँ पनि त्यसैमा ठीक लागेर, मैले नभनी पात हल्लिनुहुँदैन भन्ने । अरुलाई के भयो भने, यो त बढी नै भयो, एकलौटी गर्‍यो भन्ने परिरहेको छ । अब हामी सबैलाई पाखा लगाएर केपी ओली जाने रु भन्ने परेको होला ।

 

नेकपाका अरु नेताहरुमा केपी ओलीप्रति त्यही इर्ष्या पलाइरहेको छ । त्यसले गर्दाखेरि माधव नेपाल पनि सन्तुष्टि देख्दिनँ । बामदेव गौतम, झलनाथ खनाल पनि सन्तुष्ट देख्दिनँ । प्रचण्ड त असन्तुष्ट हुने नै भए । किनभने, केपी ओलीबाट प्रधानमन्त्री बाँडेर आफूले ल्याउने भनेको त्यो भइरहेको छैन । उनको मन पनि सन्तुष्ट छैन ।

 

नेकपाका यी नेताहरुको असन्तुष्टिलाई म्यानेज गर्न केपी ओलीलाई गाह्रो भइरहेको छ । अहिलेको द्वन्द्व चाहिँ त्यही हो । यो द्वन्द्वले फेरि कता-कता के-के गर्ने हो । हिजो कांग्रेस जसरी दुर्घटनामा गयो, त्यो इतिहासबाट यी नेता सच्चिएर केपी ओलीदेखि लिएर प्रचण्डसम्म सच्चिन जरुरी छ ।

देउवा चोचोमोचो मिलाउँदैछन्

अब अहिले कांग्रेसका सभापति नेकपाका नेताहरुको तानातानमा परेको पनि सुनिन्छ । हाम्रो सभापतिजीका पनि आफ्नै सीमाहरु छन् । आफ्नै कमजोरीहरु छन् । जसले गर्दा उहाँले प्रचण्डसँग पनि केही न केही ब्यालेन्स मिलाउनैपर्‍यो । केपी ओलीसँग पनि गएर के-के चोचोमोचो मिलाउनै पर्‍यो ।

 

उहाँका डिनर यात्रा मैले कता-कता अनौपचारिक सुनिरहेको छु । देखी बुझी रहेको छु । मलाईचाहिँ यो कुराको आभास भइरहेको छ कि हाम्रो सभापतिले नेपाली कांग्रेसलाई नेकपाभित्र खेल्न प्रयोग गर्नुहोला । मलाई यो पनि चिन्ता भइरहेको छ कि विकल्पको शक्ति बन्नुपर्ने कांग्रेस कता जाँदैछ  ?

 

अहिले कम्युनिस्टले जनतालाई निराश बनाए । जनताले कम्युनिस्ट सत्ताबाट भरोसा गर्न सकेनन् । त्यसपछि भरोसाको केन्द्र काँग्रेस त छ नि भनेर जनताले यतापट्टि हेर्नुपर्ने ठाउँमा, जनतालाई कांग्रेसप्रति आश्वस्त हुने ठाउँ पनि बनाउन सकेनौं । यही ढुलमुल र यता उताकै कारणले । के छ, के छ यहाँ ?

 

हामी प्रष्ट बहुमत ल्याउने गरी खुलमखुला आफ्ना कुरा राखेर जनताबीच जानुपर्ने हो । हामीले प्रतिपक्षको धर्म निर्वाह गर्न सकिरहेका छैनौं । हाम्रो नेतृत्वबाट त्यो भूमिका निर्वाह नभइरहेको अनुभूति भएको छ । म बीचमा बोल्छु, मेरो कुरा त उठेर बोले हावाले लान्छ, बसेर बोले कसैले सुन्दैन भनेजस्तो भएको छ ।

 

मिडियाले पनि पार्टी प्रमुखहरुलाई नै महत्व दिन्छन् । हाम्रो कुरालाई महत्व कम दिन्छन् । फेरि हाम्रो भूमिका पनि केही न केही कम भइहालेको हुन्छ । किनभने, निणरयक भूमिका त त्यहाँ छ । निणरयक शक्ति त सभापतिमा छ । त्यसो भएको हुनाले पनि समस्या भइरहेको छ ।

 

मचाहिँ सिस्टम निर्माण गर्ने र कांग्रेसलाई बलियो प्रतिपक्ष बनाउने प्रयासमा छु । म तलसम्म सबैसँग सम्पर्कमा जान चाहान्छु । साथीहरुसँग देशको लागि, प्रजातन्त्रका लागि सहयोग माग्छु । यो पार्टी जन्मिएको प्रजातन्त्रका लागि हो । यसलाई संस्थागत गर्ने कुरामा हामी लागौं भन्ने नै मेरो जोड हो । हामी कम्युनिस्टमा खेल्ने होइन, आफू बलियो बन्ने हो ।अनलबनखबरबाट।