पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडाै,फागुन २८।  पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर बम विस्फोट भएको छ । बुधबार बिहान भक्तपुस्थित मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा  बिहान बम विस्फोट भएको हो ।

 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ।

 

 

बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो। बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन। सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए।