श्रीमतीको हत्या गरी शव घरमा राख्ने श्रीमान पक्राउ

 

 काठमाडाै,फागुन २८। महानगरीय प्रहरी वृत्त कीर्तिपुरले श्रीमती हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नविन राईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार गत सोमबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

 

दक्षिणकाली पासिङ्गालस्थित एक कृषि फर्ममा राई र उनकी ३३ वर्षीय श्रीमती पुष्पासँगै काम गर्थे । गत २६ फागुन साँझ काम सकेर कोठा फर्कने क्रममा मादक पदार्थ सेवन गरेका नविनले कुटपिट गर्दा पुष्पाको मृत्यु भएको थियो । मृतक श्रीमतीलाई खोल्सामा फालेर कोठामा पुगेका राईले भोलिपल्ट नशाले छाडेपछि शव घरमा ल्याएर राखेका थिए ।

 

उनीहरूको तीन छोरी छन् । १२ वर्षीय जेठी छोरीले आमाको हत्या भएको प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो । मृतक पुष्पाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । आमाको मृत्युपछि बेसाहारा बनेका छोरीहरूको रेखदेखका लागि समाजिक संस्थासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।