प्रधानमन्त्री ओली मुस्कुराउँदै शिक्षण अस्पतालबाट बाहिरिए

काठमाडौं ,फागुन,३० । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट फर्किएका छन् ।

१९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् ।घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।

 

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।

 

शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको बताएका थिए ।

 

यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।

 

अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो ।