तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

वीरगञ्ज, चैत्र १। पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन् ।

बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताउनुभयो । दैनिक ४२ देखि ४६ वटा ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर आउने गरेकोमा पछिल्लो तीन दिनमा पनि त्यही अनुपातमा ग्यास बोकेका बुलेट आएको तथ्याङ्कमा देखिन्छ ।

जनवरी १ देखि मार्च १२ सम्ममा पाँच करोड ८५ लाख ६३ हजार ९३० किलोग्राम खाना पकाउने एलपी ग्यास वीरगञ्ज नाका भएर आयात भएको र पछिल्लो तीन दिनमा २२ लाख ६३ हजार ११० किलोग्राम ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भोलिका दिनमा खाना पकाउने ग्यास अभाव होला कि भनेर उपभोक्तले आ–आफ्नो घरमा ग्यास मौज्दात राख्न थालेपछि एलपी ग्यासको माग बढेको बताइन्छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्नु नै माग बढ्नुका कारण रहेको नेपाल आयल निगमको दाबी छ ।

नेपालका ३३ प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका र कुल एक करोड १२ लाख प्रतिसिलिन्डर प्रयोगमा रहेको निगमले जनाएको छ । ३५ हजार मेट्रिक टनले २४ लाखवटा सिलिन्डर मात्र भरिन्छ भने हाल मासिक ३८ देखि करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास आयात गरिँदै आएको छ ।

खाली सिलिन्डर लिएर एकैचोटि धेरै उपभोक्ता ग्यास लिन आउनाले ग्यास अभाव जस्तो देखिएको तर आपूर्ति बढाइएकाले उपभोक्ताहरू जतिवटा सिलिन्डर लिएर आए पनि ग्यास पाइने, अभाव नहुने निगमले जनाएको छ ।

नेपालमा प्रयोगमा रहेका एक करोड १२ लाख प्रतिसिलिन्डरमध्ये ३६ लाख सिलिन्डर उपभोक्तासँग, ३६ लाख कम्पनीमै र ३६ लाख ढुवानीकै क्रममा रहने तथा दैनिक ८० हजार सिलिन्डर भरिने गरेकाले पनि उपभोक्तले खाली सिलिन्डर एकैचोटि ल्याउँदा अभाव देखिएको निगमको दाबी छ ।

काठमाडौँका उपभोक्ताहरूमध्ये सामान्य परिवारले दुईदेखि चारवटा र ठूला होटल तथा रेस्टुरेन्टले सयौँ सिलिन्डर मौज्दात राख्ने गरेका अन्य सहरका उपभोक्ताको पनि त्यस्तै स्थिति रहेकाले ग्यास भए पनि अभाव देखिएको निगमले जनाएको हो ।यो समाचार गोरखापत्रबाट