कांग्रेस राजनीतिः सभापति र महामन्त्रीबीच द्वन्द्व बढ्यो

काठमाडौं, चैत २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जहिल्यै गुट राजनीतिमा फस्दै आएको छ । कांग्रेसमा नेता र पार्टीभन्दा हरेक निर्णयमा गुट हावी देखिँदा हरेकजसो निर्णयमा किचलो उत्पन्न हुँदै आएको छ । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउँदा भागबण्डामा सहमति गर्न एक ठाउँ उभिएका नेताहरू पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफू अनुकूल रिक्त विभाग गठन गर्दै अघि बढेपछि कांग्रेसभित्रको विवाद सतहमा देखिएको थियो ।

 

पछिल्लो समय सो विवादको अन्त्य नहुँदै नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को जिल्ला नेतृत्वको विवादले सभापति देउवा र महामन्त्री डा। शशांक कोइरालाबीचको द्वन्द्व सतहमा देखिएको छ । कांग्रेस जिल्ला नेतृत्वको विषयमा सभापति देउवाले कार्यवाहक सभापति रहिरहेका अर्जुन पोखरेललाई हटाएर विष्णुप्रसाद पौडेललाई सभापति बनाएपछि सभापति देउवा र महामन्त्री कोइरालाबीच द्वन्द्व बढेको हो ।

 

सो विषयलाई लिएर महामन्त्री कोइरालाले देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै पार्टीमा केन्द्रीय समितिबाट भएको निर्णयविपरीतको निर्णय लिएर एकताको वातावरण बिथोलेको आरोप लगाएका छन् । यसअघि हरेक विषयमा महामन्त्रीले सभापतिलाई सघाउने गरेको आरोप लाग्ने गरेको थियो । देउवाले २३ फागुनमा पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएका थिए ।

 

कोइरालाले महाधिवेशनको मिति तय भइसकेको अवस्थामा भएका एकलौटी निर्णयले महाधिवेशनको निस्पक्षतासमेत प्रभावित हुने भन्दै पोखरेललाई नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को कार्यबाहक सभापति कायम राख्न र विधानअनुसार पार्टी चलाउन आग्रह गरेका हुन् ।

 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसभित्रको हरेकजसो किचलोमा लिडरसिप नै असक्षम देखिएको बताए ।
‘कांग्रेसभित्र लिडरसिप नै असक्षम देखियो, सभापति मात्रै लिडरसिप होइन, कसैले पनि नेतृत्वको जिम्मेवारी देखाउन सकेनन्, सभापति पनि चुके महामन्त्री पनि चुके,’ राजनीतिक विश्लेषक आचार्यले भने । राजधानी दैनिकमा खबर छ।