हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी : देशैभर एसईई परीक्षा ४ लाख ८२ हजारले दिदै

काठमाडौं,चैत्र २ । माध्यामिक परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि सञ्चालन गर्ने परीक्षाको समय तालिका सार्वजनिक गरिसकेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणको संत्रासका कारण परीक्षा स्थगित गर्नुपर्ने आवाज उठिरहेको बेला सरकारले हेल्थ डेक्स राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारले एसईई हुुने मुुलुुकभरका १ हजार ९ सय ९५ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भएको छ । परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालयको समन्वयमा डेस्क स्थापना गर्न बताइएको छ ।

 

परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी तथा परीक्षामा संलग्न अन्य सबैको तापक्रम जाँच गरिनेछ । परीक्षाका क्रममा कुुनै विद्यार्थीमा ज्वरो देखिएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कबाट हुुनेछ ।

शिक्षाविद्हरुले पनि हेल्थ डेक्स राखेर परीक्षा सञ्चालन गर्नुपर्ने सुझाब दिएका छन् ।

 

शिक्षाविद् विद्यानाथ कोइरालाले कोरोना भाइरसको संक्रमण हुनबाट परीक्षार्थीलाई जोगाउने उपायसहित परीक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘बरु परीक्षार्थीलाई मास्क लगाएर आउन अनुरोध गरौं । पानी वा घामको समस्या हुने भएकाले चौरमा त्रिपाल टाँगेर पनि चलाउन सकिन्छ । आवश्यक परेमा स्वास्थ्यकर्मीको पनि परामर्श लिऔं ।’ उनको भनाइ छ ।

 

सरकारले पनि स्थगन नगरी सुरक्षाका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । कोरोना भाइरस संक्रमण हुन नदिने विषयमा सचेतना जगाउन शिक्षा र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा हजार स्वयंसेवक परिचालन गर्ने भएका छन् ।

 

अभियानमा चिकित्सा शिक्षा आयोगलाई पनि सहभागी गराइनेछ । स्वास्थ्यसँग सम्बन्धित विषय पढाइरहेका मेडिकल कलेजसँग समन्वय गरेर अभियान चलाइने सरकारी तयारी छ । पहिलो चरणको योजनाअनुसार स्वयंसेवकले कोरोना भाइरस के हो भन्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउनेछन् ।

४ लाख ८२ हजारले दिदैछन् एसईई

चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको परीक्षा बोर्डले जनाएको छ ।

 

ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी परीक्षार्थी बागमतीबाट १ लाख ३ हजार ६ सय ६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४ सय ३६ सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९ सय ९४ केन्द्र कायम गरिएको छ ।

 

यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले तीनै तहका सरकार मिलेर यही चैत्र ६ गतेदेखि एसईई परीक्षा गराउने तयारी गरिरहेको बताएका छन् । त्यसका लागि १९९५ परीक्षा केन्द्र तय गरिएका छन् । परीक्षा केन्द्रहरूमा प्राथमिक उपचार केन्द्र राख्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मन्त्रिस्तरमा निर्णय भएको छ ।

 

निजी, गैरसरकारी, सामुदायिक स्वास्थ्य संस्थाहरूबाट पनि स्वास्थ्य स्वयंसेवक परिचालन गर्न मन्त्रालय लागिरहेको छ । परीक्षार्थीहरूले अहिले सेल्फ र होम क्वारेन्टाइनमा बसेर आफ्नो पठनपाठन अगाडि बढाउनुपर्ने, नियमित हात धुने, मास्क प्रयोग गर्ने, संक्रमणको लक्षण देखिएकाबाट दूरीमा बस्ने, स्वास्थ्य मन्त्रालयबाट जारी हुने निर्देशनहरूको नियमित पालना गर्नेजस्ता सावधानी अपनाउने र नडराई आफ्नो अध्ययन जारी राख्नुपर्ने लगायतका सुझाब उनले दिएका छन् ।

 

एसईई परीक्षा केन्द्रमा हिमालमा १५०, पहाडमा २५० र तराईमा ३०० सम्म परीक्षार्थी राख्ने मापदण्ड भएता पनि कोठाहरूको उपलब्धता हेरी यथासम्भव पातलो संख्यामा परीक्षार्थी राख्ने, छुटै अइसोलेसन कक्षको व्यवस्थापन गर्ने, परीक्षाकेन्द्र बाहिर अनावश्यक भीड नगर्ने, सकेसम्म स्कुलबसहरू तत्कालका लागि प्रयोग नगर्ने र गर्नुपर्ने बाध्यता भएमा त्यसमा पालना गर्नुपर्ने आचारसंहिता बनाउने र सीडीओको नेतृत्वमा रहेको जिल्ला एसईई सुरक्षा समितिमा स्वास्थ्यको प्रतिनिधि पनि आमन्त्रण गरेर स्थानीय परिस्थितिको आकलन गर्नेजस्ता कार्य गर्नुपर्ने उनको सुझाब छ ।