कपनबाट प्रहरीले डेढ लाख मास्क बरामद

  काठमाडौं, चैत, २। कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी आक्रामक बनेको छ ।

 

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।

 

अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ । कपन क्षेत्रमा प्रहरीले चलाएको यो अपरेशन अझै जारी छ । त्यसैले बरामद संख्या बढ्न सक्ने एक प्रहरी अधिकृतले बताएका छन् ।यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

 

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

 

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।अनलाइनखबरबाट।