तेलको अन्तर्राष्ट्रिय मूल्य ६८%घट्दा नेपालमा ९% मात्र घट्यो

काठमाडौं, चैत ४ । कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन ।

 

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ ।

 

पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६८ प्रतिशत घटेको छ । असार ०७१ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल (१५९ लिटर) १०६ अमेरिकी डलर थियो ।

 

त्यतिवेला नेपालमा पेट्रोलको मूल्य एक सय ३४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०५.८५ थियो । तर, हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल ३४ डलर कायम हुँदा नेपालमा पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ छ भने डिजेल÷मट्टीतेलको मूल्य ९५ रुपैयाँ छ ।

 

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७२ डलर घट्दा आयल निगमले सार्वजनिक सवारीसाधनले प्रयोग गर्ने डिजेल र विपन्न जनताले प्रयोग गर्ने मट्टीतेलमा १० रुपैयाँ मात्र घटाएको छ ।

 

पछिल्लो समयमा पनि जनवरीयता कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । जनवरीमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलर थियो । त्यसयता मात्रै आधा नै मूल्य घटेर ३४ डलर भएको छ ।

 

तेल उत्पादन गर्ने दुई ठूला देश साउदी अरेबिया र रसियाबीचको प्रतिस्पर्धाले अहिले मूल्यमा गिरावट आएको हो । तेल उत्पादन कटौती गर्नुपर्ने साउदीको प्रस्तावलाई रसियाले नकारेपछि दुवै देशले उत्पादन बढाउँदा मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा घटेपछि भारतले समेत आन्तरिक बजारमा मूल्य घटाएको छ ।

 

इन्डियन आयल कार्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पनि सोमबार पेट्रोलमा ७.७२ र डिजेलमा ७.३५ रुपैयाँ प्रतिलिटर घटाएर पठाएको छ । यसअघि आइओसीले पेट्रोल ५२.४९ रुपैयाँ र डिजेल ५७.०७ रुपैयाँ प्रतिलिटरका दरले पठाउँदै आएकोमा सोमबार पेट्रोल ४४.७६ र डिजेल ४९.७२ प्रतिलिटरका दरले पठाएको छ ।

 

सोमबारै मूल्य समायोजन गर्दैे निगमले नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा जम्मा दुई–दुई रुपैयाँ मात्रै घटाएको छ । नेपालमा जनवरीमा पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ रहेकोमा अब १ सय ६ र डिजेल–मट्टीतेल १ सय रुपैयाँ रहेकोमा अब ९५ रुपैयाँ कायम भएको छ ।

 

जब कि यसबीचमा अन्तर्राष्ट्रिय मूल्य आधा घटेको छ । आफैँ इन्धनको भाउ तोक्न पाउने स्वचालित मूल्य प्रणालीलाई निगमले उपभोक्ता शोषण गर्ने हतियार बनाएको छ । ०७१ मा यो प्रणाली लागू गर्दा निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन हुने र अन्तर्राष्ट्रिय भाउअनुसार नै घटबढ हुने घोषणा गरेको थियो । तर, समायोजनमा उपभोक्तालाई कहिल्यै न्याय दिएको छैन । आजको नयाँ पत्रिकाबाट