एसईई भोलिदेखि सबै तयारी पूरा

काठमाडौँ, चैत ५ । यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रमसमेत सकिएको छ।

 

यस पटकको परीक्षामा जम्मा चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दिएको छ । यिनमा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ ।

परीक्षा केन्द्र एक हजार ९९५

यस पटकको परीक्षामा जम्मा एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको छ । यसअनुसार प्रदेश १ मा ३७५, प्रदेश २ मा २६६, बाग्मती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा २२०, प्रदेश ५ मा ३२६, कर्णाली प्रदेशमा १७६ र सुदूरपश्चिममा २११ वटा परीक्षा केन्द्र तय गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बाग्ग्मती प्रदेशमा तय गरिएको छ ।

 

विद्यार्थीलाई मानसिक रूपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । प्रदेश तथा स्थानीय सरकारसितको समन्वयमा त्यो काम गरिने भएको छ । स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

प्रश्नपत्रको सुरक्षित प्याकिङ

यस पटकको परीक्षामा सुरक्षा र गोपनीयताको हिसाबले विशेष सावधानी अपनाइएको छ । प्रत्येक दिनको परीक्षाका लागि अलग अलग कपडाको थैलामा प्रश्नपत्र प्याकिङ गरी लाहाछाप लगाइएको परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिनुभयो ।

 

यसअघि सबै विषयको प्रश्नपत्र एउटै कपडाको थैलामा प्याकिङ गर्ने र त्यसभित्र प्लास्टिकले प्याकिङ गर्ने गरिएको थियो । तर प्लास्टिकमा लाहाछाप हुँदैनथ्यो । यस पटक भने सावधानी अपनाइएको जनाइएको छ ।

सहयोग गर्न आह्वान

शिक्षकहरूको छाता संस्था नेपाल शिक्षक महासङ्घले झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने एसईईलाई सफल बनाउन देशभरका शिक्षकलाई आह्वान गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले हालको अवस्थामा परीक्षा रोक्न नहुने उल्लेख गर्दै सतर्कताका साथ अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । परीक्षा सफल पार्न सरकारी संयन्त्रलाई सहयोग गर्न र विद्यार्थीलाई उत्साहित हिसाबले परीक्षामा सहभागी बनाउन देशभरका शिक्षकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुअघि आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्न महासङ्घले सरकारसित माग राखेको छ ।

मन्त्री पोखरेलको अपिल

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भयरहित वातावरणमा एसईई परीक्षामा सहभागी हुन सबै विद्यार्थीमा आह्वान गर्नुभएको छ । मङ्गलबार सार्वजनिक अपिल जारी गर्दै मन्त्री पोखरेलले परीक्षा केन्द्रमा विद्यार्थीलाई निर्बाध रूपमा परीक्षा लिने वातावरण बनाउन र अनावश्यक भीभाडसमेत नगर्न अभिभावकलाई समेत आग्रह गर्नुभएको छ । हालको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुन नपर्ने र ७५३ वटै स्थानीय तहलाई सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्न आग्रह गरिएको मन्त्रीले उल्लेख गर्नुभएको छ ।

गोरखापत्र दैनिकमा खबर छ।