सरकारले कोरोना चेकजाँच नै नगरी कोरोना छैन भनिरहेको छ : अखिल (क्रान्तिकारी)

काठमाडौं,चैत्र ५ । जनताको स्वास्थ्यप्रति सरकार जिम्मेवार नभएको आरोप लगाउँदै अखिल (क्रान्तिकारी)ले कोरोनाको चेकजाँच नै नगरी सरकारले कोरोना छैन भनिरहेको दावी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार एक वक्तव्य जारी गरी यस्तो दाबी गरेका हुन् ।

उनले वक्तव्यमा भनेका छन्,

“हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यमा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणको विरुद्ध निरन्तर संघर्षरत रहेको कुरा प्रष्ट छ । साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाललाई लिएर संघर्ष सञ्चालन गर्दै आईरहेको कुरा समेत स्पष्ट पार्न चाहन्छौँ । यतिखेर नोबल कोरोना भाइरस (कोभिड–१९)को महामारीले विश्व–समुदाय नै आक्रान्त बनेको अवस्था छ । हाम्रो देशमा पनि यसले जनस्तरमा विविध प्रकारका असर पारिरहेको छ । जनताको स्वास्थ्यको जिम्मा लिनुपर्ने राज्यको दायित्व हुँदाहुँदै यस सवालमा सरकार जिम्मेवार एवं गम्भीर देखिएको छैन । कोरोना चेकजाँच नै नगरी नेपालमा कोरोना छैन भन्ने प्रचार बाहेक अन्य केहि गरेको देखिँदैन । यसमा नेपाल सरकार गम्भीर बन्नको लागि अनुरोध गर्दछौँ ।

अहिले खाना पकाउने ग्याँस लगायत हरेक सामानहरुमा कालाबजारी भइरहेको छ र भ्रष्टाचार समेत मौलाइरहेको अवस्था छ । यसमा सरकार जिम्मेवार बनिरहेको छैन । दलाल र तस्करहरु खुलेआम आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । हाम्रो संगठन सरकार समक्ष कोरोना विरुद्ध सचेतना अभियान देशैभर सञ्चालन गर्नुको साथै निशुल्क स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने र उपचार गर्ने व्यवस्था मिलाउनको लागि अपिल समेत गर्दछ भने कालाबजारी र भ्रष्टाचारको विरुद्ध कडा कदम चाल्न समेत जोडदार माग गर्दछौँ अन्यथा अखिल ९क्रान्तिकारी० शसक्त संघर्षमा उत्रन बाध्य हुने समेत जानकारी गराउन चाहन्छौँ ।