प्रहरीलाई बिदा बस्न रोक

काठमाडौं, चैत ५ । देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजनासमेत बनाएको छ । सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । बुधबार उपत्यकामा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।

 

संगठनमा एकजनालाई संक्रमण भएमा एकैपटक धेरैमा फैलन सक्ने भएकाले कतिपय कार्यालयमा थर्मल गनमार्फत ज्वरो नाप्नसमेत थालिएको छ । हिरासतमा उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको छ ।

 

कोरोना संक्रमणको अवस्था आएमा बजारमा कालोबजारी बढ्न सक्ने भएकाले विशेष सक्रियता अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ । अत्यावश्यकबाहेक प्रहरीलाई बिदा बस्नसमेत रोक लगाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । सरकारले फिल्महल, जिम, डिस्कोसमेत बन्द गर्ने निर्णय गरेकाले त्यस्ता क्षेत्रमा अनुगमनमा समेत प्रहरी खटाउन लागिएको छ ।

७७ जिल्लामै सशस्त्र प्रहरीको तयारी

सशस्त्र प्रहरी बलले ७७ जिल्लामै कोरोनाविरुद्ध तयारी गरिरहेको छ । हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ । सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ । सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ । स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।