केयूकेएलमा एक जनाका लागि जबर्जस्त मापदण्ड तय

काठमाडौं, चैत ६ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ ।

 

प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न कुनै एक व्यक्तिलाई मात्र आकर्षित हुने कार्यविधि बनाएर लिमिटेड सञ्चालक समितिबाटै नीतिगत बदमासी भएको हो । हालै संशोधित केयूकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्तसम्बन्धी कार्यविधिमा हाल कायम मुकायमका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई मात्र मान्य हुने मापदण्ड तय गरिएको छ ।

 

तत्कालीन महाप्रबन्धक डा। महेशप्रसाद भट्टराईको कार्यावधि १९ भदौ २०७६ मा सकिएपछि रिक्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । ९० दिनका लागि नियुक्ति पाएका उनले पुनः कानुनी आधारमा थप ९० दिनको भूमिकामा छन् । तर, उनै शाक्यलाई मात्र मान्य हुने गरी चलखेलका आधारमा कार्यविधि तय भएको पाइएको हो ।

 

संशोधित कार्यविधिको बुँदा नम्बर ८ मा पूर्णांक १५० तोकिएको छ । जसमा शैक्षिक योग्यता अनुभव मात्र ७० तोकिएको छ । त्यस्तै, कार्यपत्र लेखन ४०, कार्यपत्र प्रस्तुतीकरण २० र अन्तर्वार्ता २० गरेर १५० पु¥याइएको छ । कार्यविधि २०७१ मा अंकभार क्रमशः ५०, ५०, ३० र २० तोकिएको थियो । अहिले एउटा व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि परिमार्जन गरिएको हो ।

 

शैक्षिक योग्यता र अनुभवबापतको ७० अंकमा प्रथम, द्वितीय र तृतीय श्रेणीको क्रमशः २०, १८ र १५ अंक थप सम्बन्धित विषयको ४ र विद्यावारिधिको ६ अंक दिइएको छ । शाक्यले तत्कालीन सोभियत संघबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए भने पछि कार्यालयकै खर्चमा ईएमबीए गरेका थिए । उनको योग्यतालाई सहयोग पुग्ने गरी मापदण्ड तय गरिएको छ ।

 

यस्तै, ३० कार्य दिनको व्यवस्थापनसम्बन्धी तालिमको ५ अंक तोकिएको छ । शाक्यले स्टाफ कलेजबाट ३० दिनको व्यवस्थापनसम्बन्धी तालिम लिएको पाइएको छ । उनलाई आकर्षित हुने गरी यो व्यवस्था थप गरिएको हो । कार्य अनुभवबापत अधिकृत स्तरमा १० वर्षको अनुभवको १५, १० भन्दा माथि बढी प्रत्येक २ अंकका दरले १० अंक र विशेष अनुभव भएका भनी ९ तहबाट वा सोसरह काम गरेको प्रत्येक वर्षको २ अंकका दरले १० अंक विभाजन गरिएको छ । उक्त व्यवस्था हालकै प्रमुख कार्यकारी प्रमुखलाई विशेष ध्यान दिएर निर्माण गरिएको पाइएको हो ।

चलखेलको आशंका

लिमिटेडको कार्यकारी छनोटका लागि नीतिगत तहमा नै बदमासी गरेर आफू अनुकूल नेतृत्व ल्याउन हालका कार्यकारी अधिकृतदेखि मन्त्रालयका सहसचिव तथा सम्बन्धित मन्त्रालयको नेतृत्वसम्मको चलखेलको आशंका लिमिटेड सरोकारवालाले गरेका छन् । लिमिटेड सञ्चालक समितिको अध्यक्षमा मन्त्रालयका सहसचिव रमाकान्त दवाडी छन् । छनोट समिति संयोजकत्वमा मन्त्रालयका अर्का सहसचिव रितेश शाक्य छन् ।

लिमिटेडमा स्वार्थपूर्ण निर्णय

महाप्रबन्धकको रित्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले कामुका रूपमा जिम्मेवारी पाएपछि उनको क्रियाकलाप स्वार्थपूर्ण र निर्णयसँग बाझिने खालको देखिएका छन् । खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत चयन गर्न विज्ञापन आह्वान गरिए पनि मापदण्ड र प्रक्रिया आन्तरिक बढुवाभन्दा फरक रहेको पाइएको छैन । यसमा मन्त्रालयको नेतृत्व चुप लागेर बसेको पाइएको छ । आफैं प्रमुख कार्यकारी अधिकृतको पदमा रहनु र आफू अनुकूल हुने गरी त्यहीँ पदका लागि कार्यविधि निर्माण भएको पाइएको छ । १ सय ८० दिनको अवधिमा हालको प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका शाक्यको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै लिमिटेडमा उनको आलोचना हुने गरेको छ । लिमिटेडको कार्यकारी अधिकृतका लागि परेको कार्यपत्र विज्ञलाई पठाउने गरिन्छ, आफैं कार्यकारी अधिकृतको पदमा रहेका शाक्यले आफू अनुकूलका विज्ञलाई पठाउन सक्ने देखिएकाले त्यसमा स्वार्थ बाझिने सम्भावना देखिएको लिमिटेडका अधिकारी बताउँछन् ।राजधानी दैनिकमा खबर छ।