कोरोनाले इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

  कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

 

बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।

 

बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा २४ घण्टामा १०५ र इरानमा १०७ जनाको मृत्यु

 

स्पेनमा बितेको बितेको २४ घण्टामा १ सय ५ जना मानिसको ज्यान गएको छ । योसँगै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३८ पुगेको छ ।

 

कोरोनाको प्रकोप फ्रान्समा पनि फैलँदो क्रममा छ । बुधबार मात्रै यहाँ ८९ भन्दा बढी मानिसको ज्यान गएको छ । कुल मृत्युदर २६४ पुगेको फ्रान्समा ९ हजार १ सय ३४ संक्रमित छन् ।

 

उता, मध्यपूर्वको देश इरानमा पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । त्यहाँ बुधबारमात्रै १ सय ७ मानिसको ज्यान गएको छ ।

 

कोरोनाबाट बितेको २४ घण्टामा विश्वभर ९ सय ७५ मानिसको ज्यान गएको छ भने २ लाखभन्दा बढी मानिसमा यसको लक्षण देखिएको छ । यीमध्ये ८० प्रतिशत युरोप र पूर्वीय प्रशान्त क्षेत्रका छन् ।