सेनाले जंगलको छेउमा बनायो क्वारेन्टाइनस्थल

 मोरङ, चैत, ६। मोरङको टाँडीमा पहिलो प्रदेश स्तरीय क्वारेन्टाइन स्थल तयार भएको छ । नेपाली सेनाले टाँडीमा दुई सय जना अट्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो ।

 

प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषणा गरेको थियो । त्यसअनुसार पहिलो चरणमा २ सय क्षमताको क्वारेन्टाइनस्थल तयार पारिएको नेपाली सेनाको २ नंम्वर वाहिनी धनकुटाका सहायक रथी यमप्रसाद ढकालले जानकारी दिए ।

नेपाली सेनाले आफूसँग रहेको टेण्ट, वेडलगायतका सामग्री प्रयोग गरी एकै दिनमा क्वारेन्टाइनस्थल तयार पारिएको जनाएको छ। सहायक रथी ढकालका अनुसार टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको छ ।

 

उत्तरी मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको फराकिलो मैदान (चौरी) मा क्वारेन्टाइन स्थल बनाइएको हो । सेना समायोजन हुनुअघि माओवादीको सैन्य शिविर रहेको यो स्थान जंगलको नजिकै रहेको छ । तर, मानववस्ती पनि धेरै टाढा छैन ।

 

आवश्यक परेको खण्डमा टाँडीको सोही स्थानमा थप २ सय र सुनसरीको सप्तकोशीस्थित श्रीलंका टप्पुमा २ सय क्षमताका क्वारेन्टाइनस्थल बनाउने सहायक रथी ढकालले बताए ।

 

‘कोरोना संक्रमित आशंका गरिएका कुनै पनि व्यक्ति राख्न क्वारेन्टाइन स्थलमा तयारी अवस्थामा छ,’ सहायक रथी ढकालले भने, ‘उपचारमा खटिने टिम पनि तयार छ । क्वारेन्टाइनस्थलका लागि अन्य भौतिक सामग्री पनि छन् ।

 

नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरका सेनानी नारायण सुवेदीका अनुसार क्वारेन्टाइनस्थलमा प्रत्येक टेन्टभित्र दुईर दुईवटा बेड छन् । क्याम्पभित्र दुई मिटरको फरकमा वेड राखिएको छ । त्यसैगरी मोवाइल चार्ज, बत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि छुट्टारछुट्टै प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

 

सेनानी सुवेदीका अनुसार हाल २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन् । प्रत्येकमा चारजनाको दरले शौच जाने र नुहाउने सकिने छ । खानेपानी पनि सबैका लागि अलग–अलग व्यवस्था छ ।

 

नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा. सरिता केसीले बताइन् ।

 

क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको अभाव भएकाले प्रदेश सरकारसँग समन्यव गरिने उनले बताइन् ।

डा.केसीले भनिन्, ‘क्वारेन्टाइनस्थलमा परिचालन हुन आवश्यक पर्ने उपकरण साथै चिकित्सकहरुको लागि चाहिले आवश्यक बस्तु प्रदेश सरकाले तत्काल प्रदान गर्नुपर्छ ।

 

कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनस्थलसम्म ल्याउनका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । यस्तै पूर्वका ६ वटा अस्पतालमा गरी २८ वटा आइसोलेसन बेड तयार परिएको छ । कोसी, वीपी, नोभेल, विराट, मेची र बीएण्डसी अस्पतालमा आइसोलेसन व्यवस्था गरिएको हो ।

 

प्रदेश १ को भारतसँग आवतजावत हुने नाका काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरको रानीमा स्वास्थ्य जाँचका लागि ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।

 

हेल्थ डेस्कमा थप स्वास्थ्यकर्मी व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।ok,