बर्दघाट नगरपालिकाको खर्चमा,आइसोलेसन वार्ड

 

  रवि पाण्डेय
नवलपरासी,फागुन ६। कोरोना भाइरस (कोभिड १९) फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर बर्दघाट नगरपालिकाले आफ्नै पहलमा ‘आइसोलेसन वार्ड’ स्थापना थालेको छ । जिल्लाको बर्दघाट – १४ चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा ‘आइसोलेसन वार्ड’ स्थापना थालेको हो । नगरस्तरीय विपद ब्यवस्थापन समितिको बैठकले नगरमा भएका दुईवटा अस्पताल मध्ये शहिद स्मृति सामुदायिक अस्पतालमा तत्काल ‘आइसोलेसन वार्ड’ स्थापना गर्न सकिने ठहर गर्दै उक्त निर्णय गरेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । त्यस्तै बर्दघाट नगरपालिकामा सरकारी स्वामित्वको चिसापानी अस्पताल समेत रहेको छ । शहिद स्मृति अस्पतालको उक्त वार्डहरुमा तत्काल एउटा कक्षमा एउटा सुरक्षित बेड सहितको कुल ४ वटा बेडको ब्यवस्था हुने नगर प्रमुख बस्यालले जानकारी दिए ।

 

‘आइसोलेसन वार्ड’ बनाउन आवश्यक बजेटको ब्यवस्था नगरबाटै गरिने उनले बताए । त्यस्तै नगरले प्रसुति र काज क्रिया बाहेकका बिदा नबस्न समेत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले विपद् ब्यवस्थापन समितिको निर्णय अनुसार शहिद स्मृति अस्पतालमा ४ वडा आईसोलेशन बेडको तयारी गर्न आवश्यक प्रक्रिया थालिएको जानकारी दिए । तत्काल ४ बेडको तयारी गर्दै सम्भावित स्थलहरुको खोजी सहित आईसोलेशन बेड थपिदै. जाने उनले बताए । त्यस्तै स्थानीय सरकारको आफ्नै पहल एंव खर्चमा आइसोलेशन वार्डको ब्यवस्था देशभरमै बर्दघाट नगरले गरेको उनको दावी छ । ज्ञवालीले आवश्यक प्राइभेट प्रोटेक्सनका सामान सहित स्यानीटाइजरको ब्यवस्था समेत उक्त वार्डमा हुने बताए ।

त्यस्तै विपद ब्यवस्थापन समितिको बैठकमा बिद्यालय बन्द रहेकोले बिद्यालयलाई समेत क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने बिषयमा छलफल भएको चिसापानी अस्पतालका डा. बिजय खनालले बताए ।

उता शहिद स्मृति सामुदायिक अस्पतालका ब्यवस्थापक टिकाराम लुईटेलले अस्पतालमा बिशेष सचेतनापुर्वक अन्य बिरामी र कोरोना सम्भावित लक्षणका बिरामीहरुका लागि छुट्टा÷ छुट्टै ओपिडीको ब्यवस्था समेत गरिने बताए ।

त्यसैगरी बर्दघाट नगरपालिकामा कोरोना भाइरस सक्रमणको पूर्वतयारी बैठकहरु समेत विहीवार सम्पन्न भएको छ । विपद ब्यवस्थापन समितिको बैठक तथा बैकहरुबीचको समन्वय बैठक समेत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर कुंबरले जानकारी दिए ।

 

बैठकले बैंकहरुमा समेत स्यानी टाइजरको ब्यवस्था गर्न नगरले आग्रह गरेको कुंवरले बताए । बैठकमा बैंकका शाखा प्रबन्धक तथा प्रतिनिधिहरुले बंैकहरुले हाल गर्दै आएको सचेतना तथा अब गर्न सक्ने थप ब्यवस्थाबारे आफ्ना धारणा राखेको सिद्धार्थ बैक बर्दघाट शाखा प्रबन्धक कमल पौडेलले जानकारी दिए । बैठकमा कार्यक्रम अधिकृत पुस्कर काफ्ले र योजना शाखा प्रमुख कृष्ण थापालगायत थिए ।

स्वास्थ्य शाखाको आयोजनामा पूर्वतयारी कार्ययोजना समेत तयारी गरिएको शाखाले जनाएको छ । त्यस्तै विहीवार नै वडाध्यक्ष तथा शाखा प्रमुखहरु सहितको अभिमुखिकरण समेत गरिएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले दिएको जानकारी अनुसार फागुन ६ गतेको कक्षा आठको परिक्षा समेत स्थगित गरिएको छ । परिक्षा अर्काे सुचना नहुदाँ सम्मका लागि स्थगित गरिएको परिक्षा समितिका सदस्य अर्जुन पौडेलले जानकारी दिए ।