देशभर सार्वजनिक सवारी सञ्चालन गर्न रुट परमिट नचाहिने

काठमाडौं, चैत ७ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिपी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् ।

 

काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन यस्तो निर्णय लिएको विभागले बताएको छ । इजाजतपत्र खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन ।

 

इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने विश्वास गरिएको छ । यस्तै विभागले हाल १३ वटा रुटमा सञ्चालनमा रहेका नेपालभार मैत्री बस सेवा स्थगित गर्ने निर्णय पनि गरेको छ ।