अत्यावश्यक बाहेक सबै सेवा आजबाट बन्द

काठमाडौं, चैत ९ । कोरोना भाइरस(कोभिड–१९) को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आजबाट बन्द गरिएको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो।

अस्तालहरुमा बहिरंग सेवा पनि बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू पनि आज रातिबाट चैत्र १८ गतेसम्म स्थगित गरिएका छन् ।

 

लामो दूरीका यात्रुवाहक बसलाई भोलि ९चैत १०० देखि केही अवधिका लागि रोक लगाइएको छ । अत्यावश्यक बाहेकका क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ ।

 

एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका ३ लाख भन्दा बढी मानिस घर फर्किसकेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्ने बताइएको छ ।

 

बन्द नहुने सेवाहरुमा डाँक, तार वा टेलिफोन,सञ्चार,यातायात, प्रिन्ट वा सरकारी छापा,रक्षा आन्तरिक सुरक्षा छन । त्यस्तै पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण, खानेपानी संचालन तथा वितरण, अस्पताल,फोहरमैला संकलन, विद्युत र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा पनि रोकिने छैन । मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर, शैक्षिक संस्थाहरु भने यसअघि नै बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

नेपाल राजपत्रमा १७ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छः

१. डाँक, तार वा टेलिफोन सेवा

२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा

३.हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७. सञ्चार सेवा

८. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन तथा वितरण सेवा

१०. बैंकिङ सेवा

११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२.अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा

१३.फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा

१४.पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा

१५. बिमा सेवा

१६. विद्युत् सेवा

१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।

तर राजपत्रमा प्रकाशित जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा, हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवामा भने प्रावधान लागु नहुने देखिएको छ।