हिमाली गाउँपालिकाले कोराना भाईरसलाई लक्षित गरि स्वास्थ्यकर्मीको नियुक्ति

बाजुरा ,चैत ९। बाजुराको हिमाली गाउँपालिकाले नोबेल कोराना भाईरस(कोविड १९) लाई लक्षित स्वास्थ्य कर्मचारीहरुको व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारी एकै चोटी नियुक्ति गरेको हाे । भौगोलिक विकटता र पिछडिएको क्षेत्रमा भएकाेले बाजुरा जिल्लाको हिमाली गाउँपालिका हुम्ला र मुगु जिल्लासँग सिमाना जोडिएको गाउँपालिका भएकाेले स्थानीयमा त्रास नहोस भनेर  यस्ताे कार्य गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्लले बताएका छन् ।

 

  हिमाली गाउँपालिकामा जम्मा ७ वडाहरु रहेकोमा हाल  २ वटा स्वास्थ्य चौकी मात्र रहेका छन् ।अस्पताल र डाक्टरको पहुँचबाट निकै टाढा रहेकोले जनताहरु स्वास्थ्य सेवाको पहुँचमा आउन नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै सवै नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन एकै पटक २७ जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी नियुक्ति गरिएकाे मल्लले बताएका छन् ।

 

हिमाली गाउँपालिकाका अनुसार  विश्वव्यापीरुपमा फैलिरहेको कोराना भाईरस र गाउँपालिका भित्र फैलिरहेको भाइरल मौसमी रुगाखोकी इन्फ्लुन्जाको महामारी जस्ता राेगकाे नियन्त्रण गर्न सहयोग पुगने उद्देश्यले एकै पटक सवै वडामा स्वास्थ्यकर्मी तथा सहयोगीलाई नियुक्ति गरी परिचालन गर्न लागिएको मल्लले बताएका छन् ।

 

नेपाल सरकारको नीति तथा सविधानको धारा ३५ मा नागरिकले आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउनु पर्ने मौलिकहकको व्यवस्था भएकाेले   गाउँपालिकाले कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउन गाउँपालिकाले सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न यस्तो महत्वपूर्ण काम अगाडी बढाएको गाउँपालिका अध्यक्ष मल्लले बताएका छन् ।