रुघाखोकी लागेकाको ‘र्‍यान्डोम कोरोना’ टेस्ट गरौं : नेता शेखर कोइराला

काठमाडौं, चैत १० । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कोरोना (कोभिद १९)सङ्क्रमण भित्रीन नदिन देशलाई कम्तीमा दुई साता लक डाउन गराउन माग गरेका छन् ।

 

उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाली जनजीवन त्रसित र भयावह बनाएको भन्दै विदेशबाट नेपाल ल्याइएकाहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न लगाउनु पर्ने बताए ।

 

सरकारले सोमबारदेखि भारत र चीन जोडिएका सीमा नाका बन्द गरे पनि अझै आउने भएकोले दुई हप्ता सेल्फ क्वारेन्टाइन बस्न अनिवार्य गर्न सुझाव दिएका हुन् ।

डाक्टर समेत रहेका नेता कोइरालाले नेपालमा अहिले रुघाखोकीको सिजन भएको भन्दै मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको  RANDOM कोरोना भाइरसको परिक्षण गर्न सरकारलाई सुझाव दिएका हुन । सरकारले आजदेखी लामो दुरीको सवारी चल्न प्रतिबन्ध लगाएको छ भने सीमा नाका एकहप्ताका लागि ठप्प पारिएको छ।