प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ६८ जना पक्राउ

काठमाडौं, चैत ११ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।

 

सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।