घुमुवा प्रहरी आपराधिक कार्यमा, रक्षक नै भक्षक

काठमाडौँ, चैत १२ । शान्तिसुरक्षासम्बन्धी सूचना सङ्कलन गर्न खटिएका सादा पोसाकका (घुमुवा) प्रहरी असुली र आपराधिक गतिविधिमा संलग्न हुने गरेको गुनासो आएपछि केही दिनअघि ७४ जनाभन्दा बढी प्रहरी जिम्मेवारीबाट हटाइए । महानगरीय प्रहरी कार्यालयले यसरी हटाइएका सबैलाई महाराजगञ्जस्थित २ नम्बर गणमा हाजिर गराउने निर्णय ग¥यो । तीमध्ये केही प्रहरी राजनीतिक शक्तिको आडमा जिम्मेवारीबाट हटेनन् भने कोही बिरामीको बहाना बनाई गणमा नपुगी फिर्ता भए ।

 

राजनीतिक शक्तिको आडमा नहटेका मध्ये महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी जाजरकोट शिवालयका २७ वर्षीय वीरबहादुर बस्नेत पनि एक हुन् । जवान बस्नेत एकजना पूर्व गृहमन्त्रीका आफन्त हुन् ।

 

महानगरीय प्रहरी दरमार्गमा घुमुवाको रूपमा काम गरेका प्रहरी सहायक निरीक्षक(असई) सुरेन्द्र बसेल, जवान बस्नेतसहित तीन प्रहरी र एकजना सञ्चारकर्मी मकवानपुरको पालुङमा लुटपाटको अभियोगमा आइतबार पक्राउ परेका छन् ।

 

पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको छ । उनीहरूको साथबाट एक थान पेस्तोल, सोका गोली, लुटिएको हीरा, सञ्चारसेट, डिटेक्टर हाते मेसिन र मोबाइल बरामद गरिएको छ ।

 

महानगरीय प्रहरीले कोरोना भाइरसविरुद्ध उपत्यकामा सरसफाइ सचेतना अन्तर्गत साबुन पानीले हात धुने अभियान सञ्चालन गरिरहेको मौका छोपी असई बसेल, जवानद्वय बस्नेत, हिमकान्त पुन मगर र सञ्चारकर्मी बताउने सुजन आचार्य हीरा लुट्न मकवानपुर पुगेका थिए ।

 

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले ‘डिउटी’ छोडेरे हीरा लुट्ने कार्यमा संलग्नलाई प्रहरी सेवाबाट निलम्बन गरिएको जानकारी दिनुभयो । एकजना वृद्ध महिलासँग रहेका हीरा लुटेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।

‘रक्षक नै भक्षक’

पक्राउ पर्ने प्रहरीमा असई बसेल सुर्खेतको वीरेन्द्रनगर, बस्नेत जाजरकोटको शिवालय, पुनमगर दाङको सिजुवा र आचार्य ललितपुरको भैँसेपाटी निवासी हुन् । असई बसेल यसअघि कमलादीस्थित एक जुवा अखडाबाट ७० हजार रुपियाँ घुस विवादमा मुछिएका थिए ।

 

त्यसपछि बसेललाई घुमुवाबाट हटाएर महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहने गरी सीआरभीमा खटाइएको थियो । उनी दरमार्ग वृत्तअन्तर्गत परिचालन हँुदै आएका थिए । बसेल पनि एकजना पूर्वमन्त्रीकै आफन्त हुन् । शादा पोसाकमा खटिने प्रहरीले गर्ने अपराधको यो ज्वलन्त उदाहरण हो ।

 

सञ्चारकर्मी बताउने आचार्यको गाडीमा सवार अभियुक्तले सुरुमा आफू हीरा किन्ने ग्राहक भएको भन्दै ती वृद्ध महिलालाई हीरा देखाउन आग्रह गरेका थिए । हीरा हातमा परेपछि ‘हामी त प्रहरी हौँ, यस्तो सामान राख्न पाइँदैन कारबाही हुन्छ’ भन्दै डर, त्रास देखाएर हीरा लुटेको बताइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठोरका अनुसार उनीहरू हीरा लुटेर भागेको करिब एक घण्टापछि स्थानीय प्रहरीले गाडीसहित चारै जनालाई नियन्त्रणमा लिएको हो । पीडित धनलक्ष्मी गुरुङले दिएको सूचनाअनुसार पक्राउ परेकाको साथबाट ६१।३ क्यारेटको १२।२६ ग्राम हीरा बरामद भएको छ ।

 

उनीहरूको साथबाट बरामद फोर्डको प्रदेश ३।०१।०२२ च ३३६२ नं। को कार सञ्चारकर्मी आचार्यको भएको बताइएको छ । २२ वर्षीय आचार्यले कार चढ्ने हैसियत कसरी बनाए रहस्यमय रहेको भनाइ प्रहरीको छ ।

गोरखापत्र दैनिकमा खबर छन् ।