अत्यावश्यक वस्तुको पसल खुला राखः सरकार

काठमाडौं, चैत १२ । सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास ९एलपी ग्यास०का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा भीड नगर्न र सुरक्षित रही कम्तीमा १ मिटरको दूरी राखी लाइनमा बस्न समेत आग्रह गरेको छ ।

 

मंगलवारदेखि सुरू भएको देशव्यापी लकडाउनका कारण खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुका पसल बन्द भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता पसल नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।

 

मन्त्रालयले औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध पानीलगायत दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका सवारी सञ्चालन गर्न समेत निर्देशन दिएको छ । पसलमा काम गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र समयसमयमा स्यानिटाइजर र साबुनपानीले हात धुन पनि सरकारले आग्रह गरेको छ । यसका लागि ढुवानीकर्ता एवं विक्रेता कम्पनीले मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्रीको सुविधासहित मजदूरको व्यवस्था गर्नुपर्नेछ ।

 

मन्त्रालयले नेपाल आयल निगमलाई आफ्ना कर्मचारीलाई स्वास्थ्य सुविधाको प्रबन्ध गरी पेट्रोलियम पदार्थको आपूर्ति नियमित गर्न निर्देशन दिएको छ । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक स्थानमा सीमित पेट्रोल पम्प सञ्चालन गर्न निगमलाई निर्देशन दिइएको हो ।

 

मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङबाट आवश्यक परे मोबाइल भ्यान समेत सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आवश्यक स्थानको अध्ययन शुरू भइसकेको भन्दै आपत्कालीन अवस्था आए घरदैलोसम्मै खाद्यान्न पुर्‍याउने बताए । ‘दैनिक उपभोग्य सामग्रीका पसल र उद्योग नियमित सञ्चालन गर्न भनिएको छ, आपूर्ति व्यवस्थामा समस्या आउँदैन, आवश्यक परेमा मोबाइल भ्यान सञ्चालन गरिनेछ,’ उनले बताए । खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कम्पनी नियमित सञ्चालन भइरहेको भन्दै उनले बजारमा अत्यावश्यक सामग्रीको अभाव सृजना नहुने दाबी गरेका छन् ।

 

निजीक्षेत्रले पनि आपूर्तिमा समस्या हुन नदिने बताएको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अत्यावश्यक उद्योग नियमित सञ्चालन गरिने बताए । यसका लागि आफू अन्तर्गतका सबै उद्योगसँग कुरा भइरहेको उनले जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।