सबै सुरक्षा अंग हाई अलर्टमा

       काठमाडौं, चैत १२ । कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् । सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ ।

 

प्रहरी प्रधान कार्यालयले आफ्नो नियमित क्रियाकलापमा खटिनेबाहेकका १३ हजार रिजर्भ फोर्सलाई कोरोना संक्रमणको नियन्त्रणका लागि हाई अलर्टमा राखेको छ । यसैगरी, नेपाली सेनाले आफ्नो जनशक्तिलाई तयारी बनाएर क्वारेन्टाइनसहित कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखेको छ भने सशस्त्र प्रहरीले देशभर आफ्ना युनिटलाई तयार रहन निर्देशन दिएको छ ।

 

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नियमित काममा खटिनेबाहेकका १३ हजार जनशक्ति कोरोनाको जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको र आवश्यक परे तत्काल तैनाथ गरिने बताए ।

 

‘हामीसँग १३ हजार रिजर्भ फोर्स तयारी अवस्थामा छन्, कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक परे तत्काल खटाउने तयारी छ,’ प्रहरी प्रवक्ता क्षेत्रीले राजधानीसँग भने । कोरोनाको संक्रमण फैलिएको अवस्थामा रिजर्भ फोर्सलाई तत्काल परिचालन गर्नेगरी हाई अलर्टमा राखिएको उनले जनाए ।

 

प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरभित्रै ३० बेड क्षमताको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा ५० बेड क्षमताको वार्ड तथा सातै प्रदेशमा प्रत्येक प्रदेशमा ५० को संख्यामा रहने गरी अइसोलेसन वार्ड तयार गरिरहेको छ । आइसोलेसन वार्ड तयारीका प्रधान कार्यालयले आवश्यक टेन्टलगायतका सामग्री सातवटै प्रदेशमा पठाइसकेको क्षेत्रीले जनाए । तर, आइसोलेसनमा आवश्यक पर्ने अन्य साधन र स्रोतको भने प्रहरीलाई अभाव छ ।

 

यसैगरी, नेपाली सेनाले देशभर गरी २ हजारभन्दा बढीको संख्यामा आइसोलेसन वार्ड बनाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले देशभर गरी २ हजार बढी वार्ड तयार गरिएको तथा उपत्यकामा मात्रै सेनाले पाँच सय वार्ड तयारी अवस्थामा राखेको जानकारी दिए ।

 

प्रवक्ता पाण्डेले जनशक्ति तयार अवस्थामा राखिएपनि आवश्यक साधन स्रोत नहुँदा भने समस्या भएको जनाए । ‘जनशक्ति छ, आवश्यक साधन स्रोत भएन, संक्रमित बिरामी ल्याउदा लगाउँने कपडा र मास्क छैन,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

 

सेनाले आन्तरिक स्रोतबाटै हालसम्मको सबै तयारी गरेको हो । प्रवक्ता पाण्डेका अनुसार आवश्यक साधन र स्रोतका लगि सेनाले बुधबार र बिहीबार टेन्डर आह्वान गर्दै छ ।

 

ससस्त्र प्रहरीले भने आफ्ना कर्मचारीका लागि मात्रै १६ सय अइसोलेसन तयार गरेको छ । यस्तै आम सर्वसाधारणका लागि देशभर गरी १ हजार बेड तयारी अवस्थामा रखेको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले सर्वसाधारण र सशस्त्र प्रहरीका लागि छुट्टाछुट्टै वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीले समेत आन्तरिक स्रोतबाटै सबै व्यवस्थापनको काम गरिरहेको छ । राजधानी दैनिकमा खबर छ।