‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ,आजदेखि झनै कडाइ गरिने

काठमाडौं,चैत्र १३ । सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको पाइएको छ ।

एक ठाउँबाट अर्को ठाउँमा संक्रमण नफैलियोस् भनेर सरकारले एक साताका लागि ‘लकडाउन’ गरेकामा यस अवधिमा सवारी चलाउने, सडकमा अनावश्यक रूपमा आवतजावत गर्ने, दुई–चार जनाको समूहमा भेला हुने जस्ता गतिविधि जारी नै रहेको पाइएको छ ।

सरकारले घरभित्रै बस्न र सवारी नचलाउन निर्देशन दिएको छ । तर, देशका विभिन्न भागमा सरकारी निर्देशनको पालना नभएको पाइएको हो । बिहान र दिउँसोको तुलनामा साँझको समयमा सर्वसाधरण घर बाहिर निस्कने, गल्ली तथा चोक–चोकमा निस्कनेहरूको संख्या बढिरहेको पाइएको छ ।

गृह मन्त्रालयले भने देशभरको अवस्था हेर्दा मंगलबारभन्दा बुधबार निर्देशन पालना गर्नेहरूमा सुधार देखिएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले यो महामारीको रोकथाम र सबैको हितका लागि गरिएकाले सबैले बुझ्नुपर्ने बताए ।

‘अहिले सरकारले गरेको कार्य सबैको हितका लागि गरिएको हो त्यसैले सबैले नियम मान्नुहुन्छ भन्ने लागेको छ, सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र सवारी नचलाइदिन अनुरोध गर्दछौं,’ उनले राजधानीसँग भने ।

यता, कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको आदेश उल्लंघन गर्ने १ हजार ६३ सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले १ सय ३४ चार पांग्रे र ९ सय २९ दुईपांग्रे सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार निर्देशन उल्लंघन गर्ने सवारीसाधनका चालकलाई एकपटकका लागि कागज गराएर गल्ती नदोहो¥याउने सर्तमा छाडिएको छ ।

‘महामारी रोकथाम गर्ने कुरा सबैले बुझ्नुपर्ने हो, हामीले भन्नै नपर्ने हो,’ उनले राजधानीसँग भने, ‘बुधबार हजार बढीले निर्देशन पालना नगरेको पाएपछि दिनभर नियन्त्रणमा लिएर छाडिएको छ, भोलि (बिहीबार)देखि निर्देशन पालना नभएको भेटिए कानुनी कारबाही गर्छौं ।

प्रहरीले मंगलबार मुलुकका विभिन्न ठाउँबाट १ हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । मंगलबार भने सम्झाई–बुझाई गरेर फिर्ता गरिएकामा बुधबार दिनभर नियन्त्रणमा लिएको हो । बिहीबारदेखि कानुनी कारबाही गर्ने तयारी गरेको छ ।

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन र नियम कडाइसाथ पालना गर्न सबैसँग ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । सरकारले कोरोना भाइरस फैलिन नदिन मंलबारदेखि १८ चैतको बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।राजधानीबाट,