एक परिवारलाई मासिक एक सिलिन्डर ग्यास

काठमाडौँ, चैत १३ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो ।

 

त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ । ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।

 

निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ । निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । काठमाडौँ उपत्यकामा नेपाल आयल निगमको कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा सोही कार्यालयबाट र निगमको कार्यालय नभएको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृत लिएरमात्र बिक्री–वितरण गर्नुपर्नेछ । अर्को सूचना जारी नभएसम्मका लागि यही प्रक्रियामा ग्यास वितरण हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

 

ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्यान्डवाई बसेको बुलेटको परिमाण, गोदाममा भरेर राखिएको सिलिन्डरको परिमाण र अघिल्लो दिन बिक्री–वितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेरिस्त विवरण हरेक दिन बिहान १० बजे निगमको एलपीजी विभाग वा जिल्ला प्रशासनमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

 

ग्यास उद्योगको भन्डारमा निगमले ग्यास भन्डारण गर्ने भएको छ । ग्यास उद्योगको भन्डारण क्षमता न्यून रहेको हँुदा भन्डारण गृहलाई निगमले सरकारको आकस्मिक परिस्थितिजन्य मागलाई धान्न भन्डारण गृहका रूपमा प्रयोग गर्ने भएको छ । भन्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भन्डारण क्षमताको ५० प्रतिशत हुने र एक महिनाभित्र उक्त कार्य पूरा गरिने पौडेलको भनाइ छ ।

 

अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रत्येक ग्यास उद्योगले आफ्नो उद्योगको दुई दिनको सिलिन्डर बिक्री बराबरको परिमाण तयारी अवस्थामा राख्नुपर्नेछ । यसरी तयारी अवस्थामा राखिएको सिलिन्डरको बिक्री–वितरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन बमोजिम गर्नुपर्नेछ ।

 

ग्यास उद्योगले आफ्नो बिक्रेतामा रहेका सबै खाली सिलिन्डरलाई यथाशिघ्र उद्योगमा केन्द्रित गर्नुपर्नेछ । विषम परिस्थितिमा केन्द्रीकृतका लागि निगमले सहजीकरण गर्ने बताइएको छ । सम्भव भएसम्म सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको ग्यास उद्योगीहरूले बताएका छन् । ग्यास उद्योगको भन्डार सरकारले प्रयोग गरे आफूहरूलाई आपत्ति नहुने बताइएको छ ।

 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले भन्नुभयो “सम्भव भएसम्म हामी सहयोग गर्छौं, आधा भण्डारण सरकारले प्रयोग गर्ने कुरामा हाम्रो आपत्ति हुने कुरै भएन तर कोरोना भाइरसको सुरक्षाका हिसाबले ग्यास उद्योग पनि समस्यामा पर्न सक्छन्, भारतको उडिसाबाट ग्यास बुलेट आउने हुन्, ती कति सुरक्षित छन्, भाइरस नसर्ने गरी कसरी काम गर्ने, श्रमिकको समस्या भइसकेको छ उनीहरू काम गर्न मानिरहेका छैनन् । 

 

लकडाउन भइरहेको अवस्थामा यदि कसैको ग्यास सकिए पहिला आफूले लिइरहेको र सम्बन्धित ग्यास बिक्रेताकहाँ ग्यास लिन निगमले निर्देशन गरेको छ । पौडेलले भन्नुभयो “लकडाउनको अवस्थामा उपभोक्ताले ग्यास, पेट्रोल तथा डिजेलको समस्यामा पर्नु हुँदैन, लकडाउनमा हामीले वितरण प्रणाली मिलाएका छौँ, ग्यास सजिलै पाइन्छ । 

 

ग्यास व्यवसायीले लकडाउनको अवधिमा ग्यास भन्डारण तीव्र बनाएका छन् । फागुन १० गतेसम्म रिटेल काउन्टर सञ्चालन गरेर ग्यास वितरण गरेका व्यवसायीले लकडाउन सुरु भएपछि भन्डारण तीव्र बनाएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । सङ्घका अनुसार १२ हजार मेट्रिक टन उद्योगमा भन्डार गर्नसकिन्छ भने १२ हजार मेट्रिक टन सिलिन्डरमा भन्डारण गर्नसकिनेछ । कोरोना भाइरसको त्रासले बजारमा अभाव हुन्छ कि भनेर मागभन्दा बढी नै वितरण भएकाले तत्काल समस्या नहुने सङ्घले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ।