विदेशबाट फर्किएका सबैलाइ होम क्वारेन्टाइनमा

दमौली, चैत १३ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।

 

शुक्लागण्डकी नगरपालिकामा गठित दु्रत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फकिएका उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न सुझाव दिइएको जानकारी दिनुभयो । श्रीवास्तवका अनुसार पछिल्लो अवधिमा नगरपालिकाभित्र धेरै नै सङ्ख्यामा विदेशबाट फर्किएको पाइएकोले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

 

उहाँका अनुसार भारतको गुजरातबाट आएका एक, दुवईबाट दुई, जापानबाट एक, कतारबाट एक र बहराइनबाट एक जना होम क्वारेन्टाइनमा बसेका छन् ।

 

“विदेशबाट फर्किएको हुनाले कोभिड–१९ को सङ्क्रमण हुन सक्ने भएकाले उहाँहरुलाई सम्पर्क गरेर होम क्वारेन्टाइनमा बस्न सुझाव दियौ,” उहाँले भन्नुभयो, । विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलनका लागि हटलाइनको व्यवस्था गरिएकाले थप व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

 

यता व्यास नगरपालिकाका विभिन्न वडामा पनि विदेशबाट फर्किएकाहरुको जानकारी लिने काम भइरहेको छ । व्यास नगरपालिका–१, ६, ९ लगायतका वडामा विदेशबाट युवाहरु आएको सम्बन्धित वडाका अध्यक्षहरुले जानकारी दिनुभएको छ । व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले दुवईबाट फर्किएका युवालाई सम्पर्क गरी सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिएको जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वडा कार्यालयमार्फत् विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस