लकडाउनमा बालबालिकासँग यसरी बढाऔं प्रगाढ सम्बन्ध

काठमाडौं, चैत १४ । कोरोना सङ्क्रमण (कोभिड–१९) को खतराका कारण सरकारले गरेको लकडाउनको समयमा बालबालिकालाई सुरक्षित तवरले घरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् ।

 

चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी भन्छन्, ‘यस्तो समयमा मोबाइल वा इन्टरनेटमा समय बिताउनु बाध्यता हो । घरबाट बाहिर जान र साथीभाइसँग भेट्न नपाउने बेलामा यस्तो सामाजिक सञ्जाल, इन्टरनेटमा गेम खेल्नु स्वाभाविक हो ।’ उनी बालबालिकासँग सम्बन्ध प्रगाढ बनाउन सुझाव दिन्छन् ।

 

उनले मोबाइल चलाउँदा पनि सुरक्षित तरिकाले चलाउँदा आफू र समाजलाई फाइदा हुनुका साथै स्वास्थ्यलाई पनि असर नपर्ने जानकारी दिए । अरू बेला कार्यालय, विद्यालय जाने हतारो हुन्छ । त्यो बेला गर्न नपाएका धेरै काम हुन्छन्, जुन अहिले हामीले गर्न सकिने प्रस्ट पार्दै उन थप्छन्, ‘मोबाइल चलाउनु परेमा पनि बालबालिकालाई सँगै राखेर चलाउनुपर्छ ।

 

यसबाट बालबालिकाले के हेरिरहेका छन् भनी अभिभावकलाई थाहा हुन्छ ।’ हामीले इन्टरनेटबाट सुविधा लिन सक्नुपर्ने र त्यसलाई नशा बनाउन नहुने सुझाव दिँदै उनले भने, ‘मोबाइल चलाउने पनि समय निश्चित बनाउनुपर्छ ।’ अभिभावक र बालबालिका सँगै बस्ने समय मिलेकाले बालबालिकालाई धेरैभन्दा धेरै कुरा सिकाउन सकिने उनको सुझाव छ ।

 

पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गरेका प्रा।डा। निर्मला उप्रेती भन्छिन्, ‘यो मौका भनेको आमाबुवा र बालबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय हो ।’ बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो उनीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत भएको उनी बताउँछिन् ।

 

आफ्नो घरछेउ सानो कोठामा घर भाडामा बस्ने सानो परिवारको उदाहरण दिँदै प्रा।डा। उप्रेतीले भनिन्, ‘आमा, बुवा र छोरा मात्रको सानो परिवारमा विभिन्न फङ्सन भएको मोबाइल पनि छैन । मैले चित्र कोर्ने किताब र एउटा बाजा दिएको थिएँ । त्यो परिवार त्यसैमा धेरै खुसी भएर दिनभरि रमायो ।’ लकडाउनको समयमा घरका काम सिकाउनुका साथै बारी वा गमलामा फूलहरूको नाम सिकाउन सकिन्छ र कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने जानकारी उनले बताइन् ।

घरभित्रै कसरी राख्नेर ?

हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारिम बोर्ड, पजलजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्ने प्रा।डा। उप्रेतीले बताइन् । यता रघुवंशी पनि इन्टरनेट चलाइसकेपछि बालबालिकालाई सिर्जनशील बनाउन उनीहरूको रुचि र क्षमताअनुसारका चित्र बनाउने, वाद्यवादन, सङ्गीत सुन्ने, गाउनेजस्ता रमाइला क्रियाकलाप पनि घरभित्र गर्न दिनुपर्ने सुझाव दिन्छन् ।

 

अभिभावकले फुर्सदको समयमा बालबालिकाका साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि गर्नुपर्छ । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ । आजको गोरखापत्र दैनिकबाट