कोरोना, धर्म, पूर्वीय संस्कार र पश्चिमा जगत

यमराज तिमिल्सिना

चीनको वुहान प्रान्तमा पहिलोपटक देखापरेको नयाँ काेराेना भाइरस (काेभिड १९) विश्व महामारीकै रूपमा फैलिरहेको छ । विश्वका झण्डै दुई सय मुलुक संक्रमणबाट गुज्रिरहेका छन् । अनुमान गरिएअनुसार जनावरबाटै नयाँ भाइरसको सुरूवात भएको भनिए पनि यहि जनावरबाट सरेको हो भनेर पत्ता लगाउन सकिएको छैन ।

अरू भाइरसमा यहि जनावरबाट सर्छ भनेर भन्ने गरिन्छ तर यो नयाँ भएकोले भन्न सकिएको छैन । सन् २०१९ को अन्त्यतिर रोग देखापरेकोले नोभल कोरोना भनिएको थियोे तर अहिले (कोभिड-१९) नामाकरण गरिएको छ । यसको उपचारका बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।

 

 

कोरोना संक्रमण उच्च ज्वरो आउने, श्वासप्रश्वासमा गाह्रो हुने, प्लूसँग मिल्दोजुल्दो लक्षण देखिने, टाउको दुख्ने जस्ता लक्षणहरू देखिने गर्दछन् । यो रोगबाट जोगिने उपायहरू घरबाहिर ननिस्कने, बाहिरबाट आउँदा राम्ररी साबुनपानीले मिचिमिची हात धुने, अल्कोहलरहित सेनेटाइजर प्रयोग गर्ने, जंगली जनावरसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, खोक्दा, हाछ्युँ गर्दा नाकमुख छोप्ने, टिस्यु पेपर या सफा कपडा प्रयोग गर्ने, बिरामीबाट टाढा रहने, प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने तथा सागसब्जी फलफूल गेडागुडी खाने भिँडभाडमा नजाने जस्ता थुप्रै उपायहरू जानकारले बताइरहेका छन् ।

 

कोरोनाका कारण अधिकांश मुलुक अहिले लकडाउनको स्थितिमा गुज्रिएका छन् अर्थतन्त्र तहसनहसको बाटोमा गइरहेकोछ । नेसनल इन्सिच्युड अफ हेल्थ’ अमेरिका रिसर्च रिपोर्ट अनुसार कोरोनाभाइरस स्टिल र प्लास्टिकबाट बनेका भाँडा, रेलिंग, बेड या कुनै सतहमा तीन दिनसम्म बाँच्न सक्ने र कार्डबोर्डमा चौबीस घण्टासम्म र तामाबाट बनेका समागरिमा  जम्मा चारघण्टा मात्रै भाइरस बाँच्न सक्ने अध्ययनले देखाएको छ । पटकपटक त्रासदिपूर्ण इबोला, डेँगु र कोरोना जस्ता महामारी नयाँनयाँ रोगहरूको औषधि समेत पत्ता लगाउन हम्मेहम्मे पर्दा विज्ञानलाई समेत चुनौती दिइरहेका छन् ।

वास्तवमा रोगको अर्को नाम नै भय हो । भय उत्पन्न भयो भने जतिसुकै सावधानी अपनाएपनि त्यसले आक्रमण गरेरै छोड्छ । भयबाट मृत्युलाई निम्त्याउन सक्ने अवस्था सिर्जना हुन्छ । त्यसैले सबैभन्दा पहिले मनभित्रको भय हटाउन आत्मविश्वास नै सबैभन्दा उत्तम उपाय देखिन्छ । स्वास्थ्य विज्ञान जानकारहरूका अनुसार विशेषगरि रोग दुई प्रकारले लाग्ने गर्दछ । एक वंशाणुगत र अर्को आर्जित । वंशाणुगत रोग पूर्खामा लागेको छ भने त्यो अटोम्यटिक पछिका सन्तानमा देखापर्ने गर्दछ तर अनिवार्य लाग्छ भन्ने चाहिँ हुँदैन । आर्जित रोग व्यक्तिको लापरबाही अल्छिपन अस्तव्यस्त जीवन पद्धति खानपान बेवास्ताका कारण देखापर्ने गर्दछन् । विभिन्न प्राणघातक ठानिएका रोगहरूका औषधि पत्ता लागिसकेका भए तापनि नयाँ नयाँ रोगका कारण चुनौती त्यत्तिकै थपिदै गइरहेका छन् । डब्लुएचओका अनुसार विश्वमा औषधि पत्ता लागेका रोगहरूबाट मात्रै प्रत्येक ३७ सेकेन्डमा एक जनाको मृत्यु हुन्छ ।

 

त्यस्तै दैनिक साँझ सुतेर बिहान न उठ्नेहरूको सङ्ख्या पनि लाखौं छ । सत्य कुरा के हो भने मानवले विकासका नाममा आफै विनास निम्त्याइरहेको छ । विज्ञानका पिता भनेर चिनिने अल्बर्ट आइन्स्टाइनले ‘धर्म बिनाको विज्ञान लङ्गडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ’ भनेकाछन् । यसर्थ धर्म र बिज्ञान एउटै रथकाे दुई पाङ्ग्रा हुन् । तर भिन्नता के मा देखिन्छ भने बिज्ञानले देखिने चिज बस्तुलाई मात्रै बिस्वाश गर्दछ भने धर्मले नदेखिने अाध्यत्मिक तत्वलाई बिस्वाश राख्दछ । त्यसैले बिज्ञान धर्म भित्र अटाउन  सक्छ तर धर्म बिज्ञान भित्र अटाउन सक्दैन । तसर्थ धर्म विशाल हुन्छ बिज्ञान सूक्ष्म हुन्छ । बिज्ञान र धर्मको बिचमा यहि नै ठुलाे खाडल छ । जबसम्म बिज्ञान र धर्म एक अर्काका परिपुरक हुन् भन्ने ज्ञान हुँदैन तबसम्म यी दुईका बिच अन्तर्द्वन्द्व चलिरहन्छ । ब्रमाण्ड कस्ले बनायो ?  किन बनाइयो ? के का लागि बनाईयो ? वनजङ्गल, पशुपक्षी, मान्छे,  जीवजनावर, जन्ममृत्यु यावत कुरा विज्ञानले बनाएको हैन तर विकास चाहिँ गरेको हो । सबै धर्मका धर्मगुरू र जानकारका अनुसार अाध्यात्मिक ज्ञान प्राप्त भएपछि मात्रै बिज्ञान केहाे भनेर प्रष्ट बुझ्न सकिन्छ ।

 

पूर्वीय संस्कारले स्वास्थ, सुरक्षा, सरसफाइ,  नैतिकता र मानवता जस्ता कुरामा सबै कार्य राम्रै गरेको हो भन्न त नसकिएला तर पश्चिमाले अतिरञ्जित लाञ्छना लगाए जस्ता भने देखिदैनन् । सबैकुरा विज्ञानले प्रमाणीत गरेपछि मात्रै सत्य हुन्छ भन्ने पश्चिमा जगतबाट आज आएर पूर्वीय संस्कार ठीक रहेछ भन्ने कुरामा विश्वास बढ्दै गइरहेकोछ । पूर्वीय संस्कारमा प्रथमतः सधै या अधिकांश कार्य गर्दा भाडावर्तन तामाकै प्रयोग गर्ने । अक्सीजनको मात्रा धेरै हुने हुनाले सूर्योदय भन्दा अगाडी नै उठ्नु । शारीरिक र मानसिक स्वास्थ स्फूर्तिका लागि सिर्जनात्मक कार्यमा ध्यान र दैनिक कार्यहरू सहजै सम्पन्न गर्न सकियोस् अल्छी दूर रहोस् भन्ने हेतुले विहानै पूजा आराधना गर्ने, ईश्वरको स्मरण गर्ने, योग ध्यान प्रणायम गर्ने, घरमा शुक्ष्म किटाणु रहन सक्क्ने हुनाले वनस्पतिजन्य धुम अगरबत्ती बाल्ने किटाणुबाट बच्ने । किटाणु मार्नका लागि प्रत्येक दिन गोबरले आँगन पोत्ने / लिप्ने । किटाणु रोगथामकै लागि आँगनमा विभिन्न बाबरि, मखमली सुगन्धित फूलहरू रोप्ने ।

घर आँगनमा तुलसी रोप्ने अनि वर पीपलका रुखहरु रोपेर चौतारी बनाउने नित्य जल चढाउने । लुगा कपडाहरू किटाणुबाट सुरक्षीत राख्न खरानीमा पकाउने, स्वास्थ्यलाई विशेष ध्यान दिदै एन्टी बायोटीकका रुपमा बालिनालीमा गाईवस्तुको मलमुत्र प्रयोग गर्ने । बाहिर कतैबाट घरमा आएपछि हातखुट्टा नधोएर घरभित्र नपस्ने, हातखुट्टा सफा गरिसकेपछि आगोमा हात  तताएर मात्रै बच्चाहरुलाई समात्ने । महिनावारी  भएको बेला रगतमा आउने किटाणुबाट बच्न,  रक्तश्रावबाट शरिर कमजोर नहोस् भनेर  शारिरीक श्रमबाट अलग गर्न चारपाँच दिनसम्म अलग्गै राख्ने । खानेपानीको मुहान, नदि खोलानालाका किनारा र खुला ठाउँमा दिशापिसाब नगर्ने । अनुभवी परिपक्व व्यक्ति भान्सामा खटिने ।

 

किटाणु उडेर खानामा नपरून्  भन्नकालागि खाना खानेबेला पाठ गर्ने अन्नपूर्ण माताको सम्झना गर्ने । भगवानलाई भोग लगाउने, जलको फेरो (भूतवल) हालेर मात्रै खाने । पर्यावरणलाई महत्त्व दिएर नै पृथ्वीमा भएका प्रायः सबैको पूजा गर्ने । प्रायः सूर्यास्तको आसपासमा खाना खाईसक्ने र सबै परिवार जम्मा हुने भोलिपल्टको काम बाँडफाँड गर्ने, जेष्ठ सदस्य वा जानेबुझेको सदस्यबाट परिवारलाई नैतिकताको बाटोमा हिड्न / राखिराख्न नैतिक आदर्शका लोकगाथाहरू  सुनाउने ।

 

मानिसको मृत्युपछि मृतकले उपयोग गरेका लत्ताकपडाहरु सामानहरु जलाउने । मृतकलाई छोएकाहरु र मसानघाट गएका अस्पतालबाट आएकाले अनिवार्य रुपमा नुहाईधुवाई गरि घरभित्र पस्ने । खानपीन शुद्ध साकाहारीमा जोड दिनु र सात्विक, राजशी र तामसि श्रेणीमा वर्गिकरण गरेर स्वास्थ्य सुरक्षामा सचेत गराउँनुले यावत किसिमका पूर्वीय चलन वैज्ञानिक थिए र छन् आज पुष्टि हुँदै गइरहेका छन् । पश्चिमाको सिको गरि आफ्नो रहनसहन जीवनपद्धति भन्दा भिन्न ‘तात्तै खाँउ जलि मरौं’ गर्ने प्रवृत्तिले अनेकौं समस्या निम्त्याइरहेका छन् भन्दा अनुपयुक्त नहोला । जर्मन दार्शनिक म्याक्स मुलरले हिन्दू धर्मलाई मानव धर्म भनी त्यत्तिकै कहाँ भने होलान् र !

दुई हात जोडेर एकअर्कामा नमस्कार गर्दा पश्चिमा जगत हासिरहेका थियो । हातमुख धोएर घर भित्र पस्दा आफ्नै मुख हो सफा छ भन्दै  हाँसिरहेकै थिए । जनावर, पक्षि,बनस्पति,पहाड हिमाल,प्रकृतिको पुजा गर्दा हासिरहेका थिए । हत्या गर्नु पाप हो शाहाकारी बन्नुपर्छ भन्दा मजाक उडाइरहन्थे । मसानघाटबाट फर्किएपछि र हस्पिलबाट आएपछि नुहाएर सबै कपडा फेरेर‌ बस्थे तब पश्चिमाले अन्धबिस्वासिको बिल्ला भिराउँथ्यो । जब हिन्दु कपडा फेरेर खाना खान्छन् ।

 

आजभोलि उसलाई मजाकको‌ पात्र बनाईन्छ । जब हिन्दुहरु योग,ध्यान,प्रणायम जव, तव गर्छन् तिनीहरुलाई पश्चिमा पद्धतिमा भिजेकाहरू हाँसोको पात्र बनाउँछन् । जब आफूमाथी बज्रपात पर्न थाल्छ तब हिन्दुले अंगालेका कुराहरुलाई सापट लिएर आफूले पत्ता लगाए जसरी प्रचारप्रसार गर्छन् र अपनाउँछन् । प्रकृतिमा भएका सम्पूर्ण कुरा / वस्तुहरूको संरक्षण गर्ने, आदर सम्मान गर्ने, पृथ्वीमा भएका सबैको अस्तित्वलाई स्वीकार गर्दै समभाव राख्ने धर्म या दर्शन कुनै छ भने त्यो हिन्दु नै हो ! कुनै ठाउँ र समुदाय विशेषले गरेका अपवाद बाहेक ।

 

त्यसैले पनि असल आचरण, सभ्य समाज र त्यसभित्र अलग शुद्ध जीवन जिउने एक पद्धति नै हिन्दु या पूर्वीय संस्कार हो । प्लास्टिकका सामानहरूको अत्याधिक प्रयोग मात्रा, कार्बनको ब्यापक ऊत्सर्जन, परमाणु विकासको होडबाजी, मोटर गाडी,रकेट अत्याधुनिक हातहतियार देखि इन्धनजन्य साधनको अत्याधिक उत्पादन र प्रयोग, सुबिधाका नाममा ब्यापक र अस्तव्यस्त बसाइँसराइले जनघनत्व बढ्दै जाँदा जङ्गलको विनाश हुनु र उब्जाउ भूमी खण्डहर र मरूभुमिकरण हुँदै जानु, कृषिमा रासायनिक मलको प्रयोग आदीले गर्दा ओजन तह पातलिदै गएको छ । मौसम प्रतिकूल हुँदा विश्वलाई नै  महाविपतिको सामना गर्न हम्मेहम्मे परिरहेको छ ।

 

मानिसले प्रकृतीमाथी गरेका जघन्य अत्याचारको सजाय स्वरूप धर्तीमा यस्तै दैवीप्रकोप र महामारी जस्ता घटनाहरू घट्ने र कष्ट थपिने गर्दछन् । रोगले जातपात, धनि गरिब, ठूलो सानो, शिक्षित अशिक्षित, महिला पुरुष,कोहीपनि छुट्याउँदैन । विश्वका ठूला र सम्पन्न राष्ट्रहरूका आआफ्ना जिद्दीले र स्वार्थले गर्दा साना / अविकसित देशले व्यर्थ दु:खद परिस्थितिको सामना गर्नुपरेको छ । हरेक राज्यले हतियार र जासुसीमा गर्ने खर्च प्रकृतिको उद्धार र संरक्षणमा लगानी गरेको भए वर्तमान र भावी पूस्तालाई चुनौती सामना गर्न केही सजिलो भने पक्कै हुनेथियो ।