तरकारी र फलफूलको मूल्य अकासियो

काठमाडौं, चैत १५ । लकडाउनको चौथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य अकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ ।

 

यो अवधिमा सागको मूल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ ।

 

‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नुपरे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भने पनि त्यस्ता सामग्रीको अभाव रहेको छ । नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नुपरेको महाराजगन्जकी शर्मिला गौतमले बताइन् ।

 

सरकारले स्टक नराख्न भने पनि उनले खाद्यान्न केही महिनालाई पुग्ने राखेको बताइन् । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनुपरेको उनको दुःखेसो छ । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्को मूल्य लिएको अन्य उपभोक्ताको भनाइ छ । थोरै पसल मात्रै खुलेको कारण बढी मूल्य तिर्न बाध्य हुनुपरेको उनको भनाइ थियो ।

 

काठमाडौं उपत्यकाका आसपासका क्षेत्रले सहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् । खाद्यवस्तु बजारसम्म पु९याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरूको गुनासो छ । बजारमा अहिले पनि कतिपयले संकटलाई कमाउने अवसरका रूपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सना बताउँछन् ।

 

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेका छन् । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ ।

 

धेरै ठाउँमा आफ्नो घरनजिकका पसल नखुलेकाले उपभोक्ता टाढाटाढासम्म जान बाध्य भइरहेका छन् । घर र पसल नजिकै भएका पसलेले सरकारले तोकेको समयमा खोले पनि टाढाबाट आउनुपर्नेले सवारी साधन नहुँदा खोलेका छैनन् । काँठ क्षेत्रबाट मोटरसाइकलमै राखेर दूध, तरकारीलगायत ढुवानी हुने गरेकामा ‘लकडाउन’का कारण त्यो ठप्प छ । सहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, मजदुर, चालकलगायत दैनिक ज्यालादारी गर्नेहरू मारमा परिरहेका छन् ।

 

सरकारले गरिब परिचयपत्र वा रासनकार्डको अहिलेसम्म व्यवस्था नगर्दा लक्षित वर्गमा चाहँदा पनि सहुलियत दिन कठिन हुने गरेको छ । बजारमा अहिले सबैभन्दा अभाव ग्याँसको रहेको छ । गौतमले भनिन्, ‘सरकारले महिनौंसम्म पुग्ने ग्याँस छ भनेकाले कतिपयले हतारिएर किनेनन् तर अहिले समस्या परिरहेको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपक पोखरेल सरकारले ‘लकडाउन’ घोषणा गर्नुभन्दा केही दिन पहिलेबाट तरकारी र फलफूलको मूल्य बढ्न थालेको बताउँछन् । बजारमा तरकारी तथा फलफूलको आयात नै कम भएको उनको भनाइ छ । देशभित्रै पनि उपत्यका र उपत्यका बाहिरबाट खाद्यान्न ल्याउनका लागि यातायातको असुविधा रहेको उनले बताए । आफूले कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा सम्पर्क गर्दा त्यहाँ दैनिक तरकारी र फलफूलको आयात कम रहेको जानकारी पाएको जानकारी पनि पोखरेलले दिए । उनले भने, ‘बाहिरबाट मात्रै होइन नजिकका स्थानबाट पनि यी खाद्यान्न ल्याउन सवारी साधनको समस्या देखिएको छ ।

 

विभागले संकटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ सुरु गरेको छ । यो टेलिफोनमा सबैभन्दा बढी ग्याँस, माक्स र सेनिटाइजर नपाएको भनी गुनासो आएका छन् । त्यससँगै तरकारी, फलफूलको अभाव र मूल्यसम्बन्धी गुनासो पनि आउन थालेको उनले बताए । राजधानी दैनिकमा खबर छ ।