‘लकडाउन’को अवधि अझै थप्ने सरकारको तयारी

काठमाडौं, चैत १६ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि थप १ साता ‘लकडाउन’को अवधि थप्ने तयारी गरेको छ ।

 

गत मंगलबार १ साताका लागि घोषणा गरिएको ‘लकडाउन’को समय मंगलबार बिहान ६ बजे सकिने भएपछि सरकारले थप १ साता ‘लकडाउन’को अवधि थप्ने तयारी गरेको हो ।

 

यस्तै, आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठकसमेत बोलाएका छन् ।

 

लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।

 

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।