चीनबाट ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा,कोरोना भाइरस नियन्त्रण गर्न मोबाइल एप्स सञ्चालनमा

काठमाडौँ, चैत १७ । चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ ।

 

नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।

 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिनुभएको छ ।

 

उहाँले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको छ, विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् भन्नुभयो ।

चीनद्वारा सहयोग

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई चीनका तर्फबाट आएको सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले अन्य सहयोग सामग्री छिट्टै नेपाल आउने जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले विश्वव्यापी सङ्कटको बेला छिमेकी चीनका तर्फबाट ठूलो सहयोग भएको बताउनुभयो । उहाँले कोरोनाविरुद्ध विश्व एक भएर लाग्नुपर्ने बताउनुभयो ।

 

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले आइतबारदेखि सातै प्रदेशमा मेडिकल सामग्री तथा पीपीई वितरण गरिने जानकारी दिनुभयो ।

के–के आए सामग्री

सरकारले चीनबाट खरिद गरी ल्याएका सामग्रीमा प्रोटेक्टिभ गग्जेल्स पाँच हजार थान, क्लोरिन चार हजार, गाउन १० हजार, ग्लोभ्स एक लाख, नाइन्टिन फाइभ र एफएफपीटू मास्क ५० हजार, थर्मामिटर एक हजार थान छन् ।

 

यसैगरी प्रोटेबल पीसीआर मेसिन ५, कीट २० हजार, रिएजेन्ट पीसीआर १० हजार, प्रिमिएर प्रोब मास्टर मिक्स, आरएनए कीट, भीटीएम १० हजार, ¥यापिड डाइग्नोस्टिक कीट ७५ हजार थान खरिद गरेर ल्याइएको छ । डा.देवकोटाले चीनका केही सहयोगी संस्थाले कोरोना परीक्षण गर्ने कीटसहित व्यक्तिगत सुरक्षाका सामग्री र परीक्षणमा प्रयोग गरिने मेडिकल सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले काठमाडौँ उपत्यकामा १२ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनुभयो । उहाँले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई जना कोरोना सङ्क्रमितसहित पाँच जना, पाटनमा छ र कान्तिबाल अस्पतालमा एक जना आइसोलेसनमा उपचाररत छन् भन्नुभयो ।

आइसोलेसनमा रहेका एकको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आइतबार मृत्यु भएको छ । उनमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छैन । स्वाव परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार नै पठाइएको छ ।

मोबाइल एप्स सञ्चालनमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न नयाँ वेबसाइट र मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मन्त्रालयले कोभिड डट एमओएचपी डट जीओेभी डट एनपी नामको वेबसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

आइतबार स्वास्थ्यमन्त्री ढकालले वेबसाइट र एपको शुभारम्भ गर्नुभयो । मन्त्री ढकालले कोरोना भाइरसविरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन एप्स र वेबसाइट सञ्चालन गरिएको बताउनुभयो ।  गोरखापत्र दैनिकमा खबर छ।