कोरोना संक्रमण नियन्त्रणमा खटिने प्रहरीले ५० प्रतिशत दैनिक भत्ता पाउने

काठमाडाै,चैत्र १८। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा खटिने प्रहरीलाई ५० प्रतिशत दैनिक भत्ता दिने तयारी गरेको छ ।

 

प्रहरी प्रधान कार्यालयको आग्रहमा गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष खटिने प्रहरी कर्मचारीलाई तलबको आधा अर्थात् ५० प्रतिशत अतिरिक्त भत्ता दिने तयारी गरेको हो । नेपाल प्रहरीको एकतिहाइभन्दा बढी अर्थात् करिब ३० हजार जनशक्ति हाल कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष रूपमा फिल्डमा खटिएका छन् ।

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजिपी ठाकुरप्रसाद ज्ञवाली तथा प्रहरी उच्च अधिकारीबीच आइतबार भएको छलफलमा सुरक्षाकर्मीलाई समेत दैनिक भत्ता दिने सहमति भएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

 

सरकारले संक्रमणविरुद्ध प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत तथा उनीहरूलाई सहयोग गर्ने प्राविधिक टोलीलाई तलबको ७५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल घट्ने भन्दै आइजिपी ज्ञवालीले संक्रमण नियन्त्रणमा खटिने प्रहरीका लागि समेत भत्ता उपलब्ध गराउन गृह मन्त्रालयसँग पटक–पटक आग्रह गरेका थिए ।

 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले कोरोना संक्रमणविरुद्ध पहिलो पंक्तिमा रोकथाम तथा उपचारका लागि खटिने स्वास्थ्यकर्मीले सतप्रतिशत, स्वास्थ्यकर्मीलाई दोस्रो घेराबाट सहयोग गर्ने प्राविधिकले ७५ प्रतिशत र तेस्रो घेरामा रहेकाले ५० प्रतिशत भत्ता पाउने निर्णय सरकारले गरिसकेको बताए । सोहीअनुसार सुरक्षाकर्मीलगायत अन्य कर्मचारीलाई समेत दैनिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

प्रहरीले पिपिई र स्यानिटाइजर आफैँ उत्पादन गर्ने

नेपाल प्रहरीले कोरोना नियन्त्रणमा खटिने प्रहरी कर्मचारीका लागि आवश्यक मास्क, स्यानिटाइजर तथा पर्सनल प्रोटेक्भिट इक्विपमेन्ट (पिपिई) आफैँ तयार पार्ने भएको छ । सरकारले संक्रमित क्षेत्रमा खटिने स्वास्थ्यकर्मी तथा प्राविधिकका लागि संक्रमणबाट बच्न एन–९५ मास्क, प्रोटेक्टिभ गगल्स, इन्फ्रारेड थर्मोमिटरलगायतका सामग्री सीमित संख्यामा विदेशबाट खरिद गरेको भए पनि ती सामग्री प्रहरीसम्म आउने सम्भावना निकै कम छ ।

 

त्यसैले प्रहरीले फिल्डमा खटिने प्रहरी कर्मचारीका लागि पिपिई, स्यानिटाइजर तथा मास्क आफैँ उत्पादन गर्ने गृहकार्य सुरु गरेको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा यी सामान तयार गर्ने गरी गृहकार्य सुरु भएको छ । प्रहरीले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रहरीका प्रत्येक युनिटमा रहेका होजियारी (लुगा सिलाउने) युनिटमा पिपिईको नमुना पठाउने र सोहीअनुसार तयार गर्नेबारे गृहकार्य भइरहेको बताइएको छ ।नयाँपत्रिका दैनिकमा खबर छ।