२०७७ सालको दशैं,तिहार र सार्वजनिक विदाहरुको सूची सार्वजनिक : चाडपर्व पछि धकेलिए

काठमाडौं ,चैत, १८  । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ ।

सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।

२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिने छ ।

 

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।

 

२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले  भने, ‘२०७७ सालको असोजमा मलमास परेकाले हाम्रा चाडपर्व पर सरेका हुन् ।

 

२०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए ।

धर्मशास्त्रका जानकारहरुका अनुसार मलमास परेका वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्छ ।