ग्यासको बजार सामान्य

काठमाडौँ, चैत २४ । पेट्रोलियम पदार्थको बजार सामान्य भएको छ । लकडाउन सुरु भएको अघिल्लो दिनसम्म ग्यासको अभाव देखिएको थियो तर लकडाउनको १२औँ दिनसम्म आइपुग्दा बजार सामान्य भएको छ । ग्यास सहज भएको छ । ग्यास अभावको समस्या छिटो व्यवस्थापन गर्न सफल भएको निगमको दाबी छ ।

 

कलडाउन सुरु भएपछि पेट्रोल तथा डिजेलको बिक्री वितरण घटेको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नभएपछि पेट्रोल तथा डिजेलको खपत ठप्पैजस्तो छ । पम्पहरूले आलोपालो गरेर बिक्री वितरण गरेका छन् । माग नभएपछि पेट्रोल डिजलको आपूर्तिमा निगमले त्यति चासो दिनुपरेको छैन ।

 

लकडाउनको समयमा पनि पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको छ । लकडाउनका कारण आपूर्तिमा समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो तर सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि समस्या हुनसक्ने निगमको आकलन छ । आपूर्ति सहज नभएको अवस्थामा पनि नेपालमा केही महिनालाई पुग्ने ग्यास र पेटोल डिजेल भण्डारण गरिएको छ । कोरोना भाइरसको कारण आपूर्ति ठप्प हुने अवस्था नआउने निगमको दाबी छ । निगमले नियमित बैठक बसेर आगामी दिनमा हुन सक्ने अभाव तथा व्यवस्थापनका बारेमा छलफल भइरहेको र तयारी अवस्थामा निगमलाई राखिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

 

लकडाउनको अवस्थामा पनि दैनिक एक सय ग्यास बुलेट आइरहेका छन तर नेपाल र भारतमा कोरोना भाइरसले महामारी रूपमा लियो भने र भारतीय बुलेट नेपाल आउन नसक्ने अवस्था भए त्यसको जवाफ भने नेपाल आयल निगमसँग छैन । नेपालमा ग्यास ढुवानी गर्ने सबै बुलेट भारतीय हुन् ।

 

ग्यास बुलेटमा कोरोना भाइरसको सुरक्षा अपनाएर ढुवानी भइरहेको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । ग्यास आयात ठप्प भएको अवस्थामा नेपालमा एक महिनालाई पुग्ने ग्यास मौज्दात छ । सङ्घका अध्यक्ष गोकुल भण्डारी भन्नुहुन्छ, “आयात ठप्प भएको उपभोक्तासँग भएको मौज्दात, डिलर्स र कम्पनीमा भएको ग्यासले हामीलाई करिब दुई महिनालाई पुग्छ ।” गोरखापत्र दैनिकमा खबर छ।