टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी

काठमाडौं, वैशाख ४ । कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।

 

‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि छ । 

 

टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेको हो । ८१४१५३ डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् । प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।

 

हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।

 

यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।