प्रिय जन्मभूमि बाँधु !परिस्थितिले टाढा भएपनि मानसपटलमा तिमी

यमराज तिमिल्सिना

स्वाभाविक हो, हर कसैलाई जन्मदिने आमा र जन्मभूमि अति नै प्यारा लाग्ने गर्दछन् । लंका विजय पश्चात सुनैसुनले भरिपूर्ण लंकाको राजा होइबक्सियोस् भन्दा बाह्रवर्ष वनवास बसे तापनि मनका अन्तर कुनामा मातृभूमिको अगाध श्रद्धाले ऐँठन भएर ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्दै रामले त्यत्तिकै लक्ष्मणलाई सम्झाएनन् होला ।

 

अन्य ठाउँको बसाइँ जीवन जिउने क्रममा केही बाध्यताले त केही परिस्थितिले टाढा भएपनि मानसपटलमा जन्मभूमिको यादले सताइरहने गर्दछ, चाहे स्वदेश होस्,या विदेश । त्यसैले आजको आलेख जन्म गाउँ विशेष रहेको छ । आफ्नो गाउँ ठाउँ, त्यहाँका मान्छे, रहनसहन बोलिचाली तिनले गरेका कार्य सुन्दा कसलाई पो गौरव हुँदैन र ? तिनै कुरालाई मात्रै मध्यनजर गरिएको छ छोटो रूपमा !

‘बा’ बाट बाहुन र ‘धु’ बाट धुनी अर्थात् बाहुनले धुनी जगाएको ठाउँ बाधु ! जनजिब्रोबाट ‘बाधु’ ‘बाधु’ हुँदै बाँधु बन्न पुग्यो ! शाही ठकुरी, अधिकारी क्षेत्री, तिमिल्सिना बाहुन र दलितहरूको बाग्लो बस्ती रहेको ठाउँ महतारा क्षेत्री, गिरि, कार्की क्षेत्री, दाहाल बाहुन, बोगटी क्षेत्री जातीको पनि बसोबास रहेको छ । कुन जाती कहाँबाट आए त्यो चर्चा अर्कै आलेखमा गर्नु मनासिब होला केवल यो जानकारीका लागि मात्रै !

उच्च पहाडी भेग हिमाल मुनि समथल भूमी कमै भेटिन्छन्, त्यस्तै मध्यको एक जन्मभूमि हो बाँधु ! गाउँको मुनि झन्डै तिनसय मिटर मात्रै तल मानासरोवरको चुचुरोबाट नागबेली रूपमा लडिबुडी गर्दै हिन्द महासागरसम्म पुग्ने कर्णाली नदि निरन्तर अटुट एक तमासले बगिरहेको छ भने गाउँको दक्षिण उत्तरबाट बग्ने चुलिगाडले सिचाईँ सुविधा पुर्‍याइ रहेको छ । गाउँको पूर्व बाहेक तिनै दिशातिर वन, गाईबस्तुको लागि चरिचरन, घाँस दाउरा मेलापात गर्न सजिलो !

पूर्वबाट स्वामीकार्तिक, शिम्भुनाथको दृष्टि परेको, पश्चिम उत्तरबाट भगवती बुढिनन्दा माईको ! दक्षिण दिशाबाट बडिमालिका भगवतीको दृष्टि परेको त उत्तर पूर्वबाट छायाँनाथको दृष्टि परेको छ । अहिलेपनि काशीको कुनु भन्ने गरिन्छ । पूर्वीय वैदिक संस्कारमा गरिने हरेक कर्महरू लेखपढ गर्न प्राचीन समयमा वारायणासि हरिद्वार जस्ता क्षेत्र धेरै टाढा भएकोले शिक्षा आर्जन गर्नु ‘आकाशको फल आँखा तरि मर’ चाहेर पनि असंभव थियो । त्यो समयमा पण्डित जादु उपाध्यायले आफ्नै ध्यान ज्ञान र तपोबलले हिन्दु परम्परा अन्तर्गत भित्र पर्ने कर्मकाण्ड र अन्य रचनाहरूको सिर्जना गरेर केही ज्ञान प्रदान गर्नु भएको थियो ती हस्तलिखित पाण्डुलिपि अझैँपनि सुरक्षीत छन् । पछिल्लो समय वारायणासीका छापाबाट प्रकाशित पुस्तकहरूको बिगबिगी गए तापनि विशेष गरि कुण्डा क्षेत्र र आसपासका जिल्ला कालिकोट, मुगु, हुम्ला, जुम्ला भेगतिर जादुकै ध्यान, ज्ञान र तपोबलबाट सिर्जित मन्त्रकै आधारमा कर्मकाण्ड अथवा सोह्र संस्कारीय परम्परा चल्दै आएका छन् । त्यसैले पनि बाँधुको महत्त्व ऐतिहासिक मात्रै नभएर पौराणिक पनि छ ।

पञ्चायत कालिन बुढापाकाहरूका अनुभवमा ‘क्या खाँदो मुख विचार गर जिब्रा’ त्यतिबेला कुनै कुराको पनि अभाव थिएन बाँधुमा ! प्रशस्त कपास खेती हुँने हुँदा दैलोनेरै सबै चिज पुग्थ्यो; वस्तु विनिमयमा रूपमा ! घोरल, थारल, कस्तुरी, मृग आदिको मासु, केरा, स्याउ, सुन्तला अमिलो, जस्ता फलफूल ! सागसब्जी, तिउन तरकारी, मास मसुरो,सिमि,गहत जस्ता गेडागुडी पनि । ‘भोटको नुन र देशको सुन घरका धेलै थि’ ( ढोकामै) उखान नै सुनिन्छ अझैँ पनि । किनभने त्यतिबेला छिमेकी गाउँ, पाखोतिरका बस्ती भएका गाउँ र खेतीयोग्य जमिन कम भएका गाउँका साथै धान नफल्ने वा कमै फल्ने गाउँ तिरका मान्छेहरू भातको जोहो गर्न बेशीतिरै झर्नुपर्ने हुन्थ्यो ( अहिले डब्लु.एफ.पि र खाद्य सेवाले सेवा प्रवाह गरिरहेका छन् ) अझ ऋण सापट गर्न पनि उत्तम गाउँका रूपमा लिइन्थ्यो ! भोगमरी हुँदा होस् या अनिकाल पर्दा अथवा खेतमा बेर्ना छर्नुपर्ने बेला होस् बाँधुलाई नै सम्म्झिने गर्दथे !

धेरै अगाडी नजाउँ पञ्चायती व्यवस्था लागू भएदेखि मात्रै पनि बाँधुले आफ्नो छुट्टै उपस्तिथि देखाउँदै आएको हो । प्रधानपञ्चका रूपमा २०२० मा नरबहादुर शाही, २०३२ सालमा बलबहादुर अधिकारी र २०३९ सालमा मनविर अधिकारीलाई उभ्याएको थियो भने २०४३ सालमा जयलाल खत्रीलाई उपप्रधानका रूपमा र गाउँ पञ्चायत प्रधानका रूपमा राजेन्द्र बहादुर शाही र जिल्ला सभापतिमा मनविर अधिकारीलाई उभ्याएको थियो । २०३५/३६ तिर ‘क्षेत्रीय पञ्चायत सदस्य’ भइसक्नु भएका ‘रणबहादुर अधिकारी’लाई राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३ मा प्रकाश बहादुर शिंहका प्रतिद्वन्द्वीका रूपमा उठाएको थियो । चुनाव हो हारजित स्वाभाविक हुने नै भयो । संविधान निर्माण पश्चात् २०७४ को राष्ट्रिय निर्वाचनमा समानुपातिक सदस्यका रूपमा विद्या कुमारी तिमिल्सिनालाई उभ्याइसकेको छ बाँधुले ।

पञ्चायत होस् या प्रजातन्त्रको पुनर्बहाली पछि होस् बाँधुको भूमिका सधैं अग्रणी रहदैँ आएको थियो । २०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्ष विष्णुऋषी उपाध्यायलाई पायो भने सोही सालमा क्षेत्रपालको प्रतिस्पर्धामा धर्मराज उपाध्यायलाई अगाडी सारेको थियोे । २०५४ सालमै जिल्ला सभापतिको प्रतिस्पर्धामा राजेन्द्र बहादुर शाहीलाई उभ्याएको थियो । गाविसदेखि जिल्ला स्तरसम्म वर्चस्व राख्ने किङमेकरका भूमिका निर्वाह गर्ने सुयोग्य व्यक्तिहरूलाई जन्मदिएको छ बाँधुले !

बाँधु गाउँ आफैमा जिल्लाका लागि इतिहास बनाउने गाउँका रूपमा देखापर्दै आएको छ । पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह शुल पर्दा शुल विधि जान्ने श्रेष्ठ शास्त्राज्ञ पण्डितका रूपमा जादु उपाध्याय काठमाडौ राजदरबारमा आउनु भएको थियो भने दोश्रो विश्वयुद्ध लड्न हवल्दार नरबहादुर शाही बर्मा (म्यानमार) जानुभएको थियो । त्यस्तै जिल्लाबाट पहिलो पटक त्रिभुवन विश्वविद्यालय टपर, गोल्ड मेडालिस्ट दुईवटा विषय (अर्थशास्त्र, द्वन्द्व व्यवस्थापन) मा अमेरिकाबाट पि.एच.डी गर्ने साथै संयुक्त राष्ट्रसंघको उच्च तहमा पुग्ने नेपाली मध्य एक डा.अंगराज तिमिल्सिनालाई जन्माएको छ भने जिल्लाकै पहिलो डि.आई.जि (सशस्त्र ) मानबहादुर शाही र नेपाल सरकार निजामती सेवाको उच्चपद उपसचिव (परराष्ट्र) उत्तमकुमार शाहीलाई जन्म दिएको छ भने त्यस्तै पहिलो सशस्त्र अधिकृत (इग्निस्पेक्टर) ध्वज विक्रम शाहीलाई जन्म दिएको छ । खुल्ला प्रतिस्पर्धाबाट जिल्लाको पहिलो अमिन इन्द्रबहादुर शाही र संभवत नायव सुब्बा गोबिन्द्र बहादुर शाही हुनुपर्छ ! अमेरिकामा शिक्षण पेशा अंगाल्ने ‘अमेरिकन टिचिङ लाइसेन्स’ प्राप्त सिमित नेपाली मध्ये नवीनराज तिमिल्सिना पनि पर्दछन् । त्यसैले पनि गाउँ आफैमा गौरवको विषय बनेको छ ।

गाउँ पञ्चायतको स्थापना भएदेखि प्रजातन्त्रको पुनर्बहालीपछि बाँधु गाउँ गाविस कार्यालयको रूपमा रहेको थियो । संविधानसभाबाट संविधान जारी भएपछि देश संघीयतामा गयो सोही बमोजिम सिङ्गो गाविस टुक्रीन पुग्यो र बाँधुमा गाउँपालिका नरहने स्थिति आयो । दुःखका साथ भन्नुपर्दा गाविस टुक्रीनु गाउँबाट राजनीति गरिरहेका व्यक्तिहरूको कमजोर भूमिका रहेको हो भन्ने पंत्तिकारको ठहर छ  । बाँधुले आफूलाई कहिल्यै फाइदा हेरेन त्यसैले त न स्वास्थ्य चौकी राख्यो न माध्यमिक स्तरको विद्यालय नै ! अझैसम्म पनि निमावि स्वीकृत बाहेक दरबन्दी पाउनै सकेको छैन । माध्यमिक शिक्षा र स्वास्थ्य उपचार गर्न छिमेकी पालिका धाउनु परेको छ । बल्ल स्वास्थ्य स्थापना हुनेभएको छ भने गाउँलेहरूकै लगानीमा रहेको लघु जलविद्युत आयोजना विस्थापित गरि छिमेकी गाउँबाट विद्धुत ल्याइएको छ । द्वन्द्व कालभन्दा अगाडी गाउँमै रहेको कृषि बैंक अझैँ पून: स्थापना हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले गर्दा कच्ची सडकले केहि राहत भने गरेको छ ।

समयको अन्तरालसँगै बाँधुले पुरानो साख गुमाइसकेको छ भन्दा अनुपयुक्त नहोला ‘बाँधु’ पुरानै बाँधु छैन ! कताकता पछिल्लो समय आफै रूमल्लिएको छ बाटो बिराएको यात्री जस्तै भनौं या कुइरोमा हराएको काग जस्तै ! हिजो सबैलाई आफ्नै आँगनमा बोलाएर भलासुकाली गर्ने बाँधु आज अर्कैको आँगनमा घाम ताप्न विवश भइरहेको छ । हिजो कुण्डादरा र आसपास छिमेकी जिल्लाका समेत मुद्दा मामिलाको छिनोफानो गर्न जाने, सभा समारोहमा अग्रणी भूमिका निर्वाह गर्ने, सहि सत्य न्याय निसाफ वकालत गर्दै आफ्नो मत सर्वसम्मत बनाउने चेष्टा भएको बाँधु आज आफै उपेक्षित भएको छ । अर्काकै वैशाखीमा उभिएर हात पसार्दै निरीह भएर टुलुटुलु हेरेर माग्न विवश छ बाँधु !

झन्डै दुई शताब्दी अघि जादु उपाध्यायले खनाएको कुलोको हाड छालामा सिमेन्ट प्लास्टर गरेर मात्रै कतिसम्म घिँटिघिँटी बाँचिरहने हो बाँधु ! पूर्खाले गरेका कार्यको गौरवमा मात्रै गौरवान्वित हुनु पितृ तर्पणले मात्र पितृ मुक्त हुँदैनन्, त्यसका लागि सन्तान सुयोग्य हुनुपर्दछ भन्ने कुराको ज्ञात हुनै पर्दछ !

प्रिय जन्मभूमि बाँधु ! समय बलबान छ कसैले काबुमा राख्न सक्दैन त्यसैले आशा गरौं एकदिन तिम्रो आँगनले पनि काँचुली फेर्ने छ, नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ! ( लकडाउन बन्दकोठाबाट बुढानिलकण्ठ काठमाडौ )