बैंक नखुल्दा सेवाग्राही मर्कामा

मकवानपुर, बैशाख ४। कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन०जारी रहदा त्यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् ।

 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने र एटीएम पनि खुल्ला राख्ने निर्णय गरेको थियो । तर प्रशासनको निर्णयअनुसार वित्तीय सस्थाले आफ्ना सेवालाई सुचारु नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ ।

 

सेवाग्राहीले बैंकमा रकम झिक्न र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन् । हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेघा, नोविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ ।

 

सेवाग्राहीका अनुसार बैंकका पहरेदार९गार्ड०ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ ।

 

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ । त्यहाँ साबुन पानी र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी प्रवेश गर्न दिइएको छ । ग्रामीण क्षेत्रका बैंक बन्द रहेको गुनासो पाइएको छ । रासस