कोभिड– १९: १५ हजार आठ सयको परीक्षण

काठमाडौँ, वैशाख ४ । कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआर प्रविधिबाट हालसम्म छ हजार ८७१ र आरडिटी प्रविधिबाट आठ हजार ९२९ वटा टेस्ट भएको बताउनुभयो । त्यस्तै गत २४ घण्टाभित्र कूल दुई हजार ८९४ परीक्षण भएका छन् । उहाँका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको छ । जसमा एक जना निको भएर घर फर्किसक्नुभएको छ ।

 

आरडिटी टेस्ट सञ्चालन गर्न अब १४ जिल्ला मात्र बाँकी रहेका छन् । जसमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा तीन, गण्डकी प्रदेशमा एक, प्रदेश नं ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्ला बाँकी छन् । मन्त्रलायका अनुसार वाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आरडिटी टेस्ट शुरु भइसकेको छ ।

 

त्यसैगरी परीक्षणसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गएको प्रवक्ता देवकोटाको भनाइ छ । उहाँका अनुसार हाल क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पाँच हजार ६१४ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ११७ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा ११ जना छन् भने उपत्यका बाहिर १०६ जना रहेका छन् ।

 

पत्रकार सम्मेलनमा इपिडिमोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण भइरहेको बताउनुभयो । रासस