सिउरुङ गाउँ गए ५ हजार,बसाए ३० हजार जरिवाना

लमजुङ, बैशाख ६ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि गाउँका आमा समूह, युवा क्लब स्थानीयवासीलगायतले संयुक्तरूपमा उक्त निर्णय गरेको हो ।

 

गाउँमा कोरोना सङ्क्रमित व्यक्ति आउन सक्ने र यसको रोकथामका लागि उक्त जरिवाना निर्णय गरिएको सिउरुङ गाउँका आमा समूह अध्यक्ष तोमाया गुरुङले बताए । उनले भने, ‘हाम्रो यहाँ घरवाससमेत सञ्चालन रहेकाले विभिन्न ठाउँबाट गाउँ प्रवेश गर्न सक्ने भएकाले जरिवानाले गाउँ प्रवेशमा रोक हुने अपेक्षा गरेका छौँ ।’ गाउँपालिकाको कार्यापालिका सदस्य एवं सोही वडा सदस्य रहनुभएका स्थानीय ताराकाशी गुरुङले भने, ‘विश्वमा कोरोनाको त्रास बढ्दै जाने क्रममा यहाँ पनि स्थानीयवासीमा जोखिम बढ्यो स्थानीय त्रासमा रहन थालेपछि हामीले यस गाउँ प्रवेश गर्ने चार ठाउँमा काँडेबारसमेत लगाएका छौँ ।

 

विसं २०६५ बाट शुरु भएको सिउरुङ घरवासमा हाल १९ वटा घरवास रहेका छन् । सिउरुङ गाउँमा १२० घरधुरी छन् । मनास्लु हिमालको काखमा रहेको उक्त घरवास समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा छ । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यस्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवास पुग्ने पर्यटकलाई अग्र्यानिक खाना, लोकल कुखुराको मासु, गाउँमै उत्पादित सागसब्जीलगायतको परिकार खुवाउने गर्दछ । साथै गुरुङ समुदायको सांस्कृतिक कृष्ण चरिण, घाँटु, सोरठीलगायतका नाच हेर्न पाइन्छ । उनीहरुको परम्परागतदेखि चलिआएको रोघीं बस्नेसमेत चलन छ ।

 

बेंसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ घरवासमा पुग्नलाई २४ किलोमिटर जिपमा पार गर्नपर्छ । पैदलयात्रुका लागि भने करिब एक दिनभरि नै लाग्ने गर्दछ । कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीयवासीले यस घरवासमा यतिबेला पर्यटकलाई रोक लगाएका कारण सुनसान बनेको छ ।

साढे ११ हजारभन्दा बढीलाई राहत

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा ११ हजार ८७५ मजदुर परिवारलाई राहत वितरण गरेको छ । जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहले शुक्रबारसम्म लकडाउनका कारण समस्यामा परेका मजदुरलाई उक्त सङ्ख्यामा राहत वितरण गरेको हो ।

 

हालसम्म उक्त सङ्ख्याका मजदुरलाई एक लाख ८३ हजार ८०१ केजी चामल, १४ हजार ८७९ केजी दाल, नौ हजार ९६८ लिटर तेल, तीन हजार २९५ केजी चिनी, १० हजार ३९७ प्याकेट नुन, नौ हजार १९० वटा साबुन वितरण भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । उनले भने, ‘विश्वमा तीव्रगतिमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागू गरेको लकडाउनले समस्यामा परेका मजदुरलाई जिल्लाको सबै स्थानीय तहले तीव्रगतिमा राहत वितरण गरिरहेको छ ।

 

त्यस्तै जिल्लामा शुक्रबारसम्म १५० जनामा गरिएको ¥यापिड टेष्टमा सबै जनाको कोरोना परीक्षण नेगेटिभ अर्थात् कोरोना नभएको भेटिएको छ । यीमध्ये १२७ पुरुष र २३ महिला गरी उक्त सङ्ख्यामा परीक्षण गर्न कोरोना नभएको देखाएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । विदेशबाट आएर १४ दिनदेखि २१ गतेसम्म भएकाको मात्र उक्त जाँच गरिएको उनको भनाइ छ । जिल्लामा विभिन्न देशबाट २८० जना जिल्लामा आएका थिए । यसअघि काठमाडौँ र पोखरामा गरी ४० जनाको समेत परीक्षण गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणको जाँचका लागि जिल्लामा १६९ किट आएको थियो ।

 

जिल्लाको स्थानीयस्तरमै पुगेर गरिएको ¥यापिड टेष्टमा नगरपालिकातर्फ बेँसीशहर नगरपालिकामा १२, सुन्दरबजार नगरपालिकामा ३८, मध्यनेपाल नगरपालिकामा १२ र राइनास नगरपालिकामा १५ जनाको कोरोना भाइरस सङ्क्रमणको जाँच भएको छ । त्यस्तै गाउँपालिकातर्फ क्व्हेलासोथर गाउँपालिकामा २०, मस्र्याङ्दी गाउँपालिकामा २७, दूधपोखरी गाउँपालिकामा १५ र दोर्दी गाउँपालिकामा ११ जनाको कोरोना सङ्क्रमणको जाँच भएको छ । जिल्लामा २५ स्वास्थ्यकर्मीलाई परीक्षणका लागि खटिएका छन् । रासस