अग्रवाल ठगी प्रकरण:अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप

काठमाडौं,बैशाख ७ । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति केन्द्रहरूले विभिन्न दबाब दिँदै मुद्दालाई प्रभावित पार्न चलखेल जारी राखेका छन् ।

 

२ हजार रुपैयाँमा किनिएको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दै गर्दा पक्राउ परेका अग्रवाललाई प्रहरीले दरबारमार्ग वृत्तमा राखिरहेको छ । जबकि, उनको मुद्दा महानगरीय प्रहरी परिसर टेकुबाट चल्दै छ ।

 

महानगरीय अपराध महाशाखाको टोलीद्वारा पक्राउ परेका अग्रवालले २० हजार थान थर्मल गन ल्याएको प्रहरीको दाबी छ । तर, उनले भन्सार जाँच पास गराउँदा १ हजार २ सयको मात्रै कर तिरेका छन् । प्रहरीले अन्य थर्मल गन कहाँ छ भन्ने समेत यस बीचमा पत्ता लगाउन सकेको छैन ।

 

लुकाएको र भन्सार छली गरेको थर्मल गन पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै थप शंका उत्पन्न भएको छ । ‘शक्तिकेन्द्रको चर्को दबाबमा परेका कारण अग्रवालले भन्सार छली गर्दै लुकाएको थर्मल गन खोजीमा चासो नदिएको हुन सक्छ,’ स्रोतले भन्यो ।

 

स्रोतका अनुसार स्टिङ अप्रेसनमार्फत कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गर्न सक्ने प्रहरीले अग्रवाल आफैंले लुकाएर राखेको १८ हजार बढी थर्मल गन पत्ता लगाउन नसक्नुलाई प्रहरीमाथि चरम हस्तक्षेपको परिणामका रूपमा हेरिएको छ । यस सम्बन्धमा प्रहरीसमक्षको बयानमा समेत उनी प्रस्ट बोलेका छैनन् ।

 

प्रहरीले व्यापारी अग्रवालमाथिको मुद्दालाई अदालतबाट नभएर जिल्ला प्रशासन कार्यालयमार्फत अघि बढाएकामा समेत शंका उब्जिएको छ । अदालतबाट जाँदा उपभोक्तासम्बन्धी कानुन लगाउन सक्ने र बढी सजाय हुन सक्ने भन्दै प्रशासनमार्फत मुद्दा चलाउन प्रहरीमाथि दबाब परेको स्रोत बताउँछ ।

 

‘अदालतबाट जाँदा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, प्रशासनबाट गए बढीमा एक वर्ष मात्रै कैद हुने हुँदा मुद्दा कमजोर बनाउन दबाब छ,’ उच्च स्रोतले भन्यो ।

 

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले आफैं व्यापारी बनेर मोलमोलाइ गरेको थियो । सोही बखत गरिएको ‘स्टिङ अप्रेसन’का क्रममा अग्रवाल ६७ थान थर्मल गनसहित पक्राउ परेका थिए ।

 

व्यापारी अग्रवालमाथिको मुद्दा कमजोर बनाउन उद्योग सम्बद्ध व्यापारी, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरू नै लाग्दै आएको स्रोतले जनाएको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले भने मुद्दा कमजोर बनाउन कुनै दबाब नआएको दाबी गरे ।

 

‘दबाब आएको भए त पक्राउ पर्नेबित्तिकै छुट्थे होलान्, त्यस्तो दबाब छैन । अनुसन्धान भइरहेको छ । अनुसन्धान सकिएपछि मुद्दा अघि बढ्छ,’ प्रवक्ता बोगटीले राजधानीसँग भने ।

 

उनले बयानका क्रममा अग्रवालले आफूले ल्याएको थर्मल गन बिक्री गरिसकेको बयान प्रहरीलाई दिएको जानकारी दिए । ‘बाँकी थर्मल गनका विषयमा प्रहरीसँगको बयानमा अग्रवालले बिक्री गरिसकेको भनेका छन्, थप बुझ्दै छौं,’ बोगटीले थपे ।

 

उनले अग्रवाललाई एकातिर थुनामा राखेर अर्कैतिरबाट मुद्दा चलाइरहेको जिज्ञासामा संकटको अवस्था रहेकाले नयाँ पक्राउ परेका थुनुवालाई अन्यत्रै राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रतिक्रिया दिए ।

 

अग्रवालले भन्सार कार्यालयमा बीजक बुझाएअनुसार चीनमा २० डलर तिरेर थर्मल गन खरिद गरेको उल्लेख छ । उनी २५ चैतमा पक्राउ परेका थिए । सुरुमा ७ र पछिल्लोपटक ५ दिन म्याद थप भएपछि उनी १२ दिनदेखि महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी हिरासतमा छन् ।

 

उनीमाथि कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडाैमा अग्रवाललाई पेस गर्ने तयारी गरेको छ । अग्रवालले २१ चैतमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा थर्मल गन ल्याएका थिए ।

 

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मुद्दाको अभियोजन जिल्ला प्रशासन कार्यालयमा गर्नेछ । प्रमुख जिल्ला अधिकारीले मुद्दाको प्रकृतिअनुसार धरौटीमा छोड्ने वा पुर्पक्षमा पठाउन सक्ने कानुनी प्रावधान छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस प्रकरणमा कस्तो न्याय गर्लान् भन्ने प्रश्न सिर्जना भएको छ । कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ पर्दा समेत उनी धरौटीमा छुट्ने अवस्था आएमा अन्य कालोबजारी गर्ने व्यक्तिलाई प्रश्रय मिल्न सक्ने भन्दै यसमा प्रमुख जिल्ला अधिकारी थप संवेदनशील हुनुपर्ने माग आम उपभोक्ताकर्मीको छ । राजधानी दैनिकमा खबर छ।