सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षा

बलेवा,वैशाख ७  । कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो । तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

 

आइतबारदेखि बरेङमा रहेको सामुदायिक रेडियो बिहानीबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चार विषयको कक्षा सञ्चालन हुनेछन् । कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको थापाले बताउनुभयो ।

 

“एसइईलाई लक्षित कक्षा सञ्चालन हुनेछ, परीक्षाको तयारी गराउँदा जसरी विद्यालयमा शिक्षकले पढाउँथे उसैगरी रेडियोबाट पढाइ हुन्छ”, थापाले भन्नुभयो, “यसले विद्यार्थीलाई धेरै सहज बनाउने छ, नसिकेका कुरा सिक्ने र बिर्सेका कुरा सम्झने अवसर हुनेछ ।” अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयको कक्षा रेडियोबाट सञ्चालन हुनेछ । “हामीले गाउँपालिकाभित्र रहनुभएका विषय शिक्षकलाई अनुरोध गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “उहाँहरुलाई गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउने छ ।” रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागि गाउँपालिकाले प्रतिकक्षा रु ५०० पारिश्रमिक दिने विधि तयार गरेको छ ।

 

विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको शर्माले बताउनुभयो । रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र गुल्मीको शान्तिपुर क्षेत्रका अधिकांश विद्यार्थीले लाभ लिन सक्छन् । परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रविधिको प्रयोगमार्फत एसइईको तयारीलाई जारी राख्न अनुरोधसमेत गरेको छ ।

म्याद गुज्रेका खाद्यवस्तु भेटिए

लकडाउनको समयमा कालोबजारी मौलाएको र मूल्यवृद्धि भएको गुनासो आउन थालेपछि बजार अनुगमन थालेको ताराखोला गाउँपालिकाले बजारमा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तथा पेयपदार्थ फेला परेका हुन् । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसहित बजार अनुगमनमा निस्किएको टोलीले म्याद गुज्रेका खाद्य तथा पेयपदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख युवराज सलामी मगरले जानकारी दिनुभयो ।

 

एक बोरा चामल, चाउचाउ, चिजबल, फ्रुुटी, बिस्कुटलगायतका खाद्य पदार्थको म्याद गुज्रिएको भेटिएको हो । “बजारमा धेरै सामान म्याद गुज्रिएका भेटिए, हामीले नियन्त्रणमा लिएका छौँ”, मगरले भन्नुभयो, “एउटा गुनासो सुनेर बजार पुगेको अवस्था अर्कै रहेछ ।” गुनासो आएकोजस्तो मूल्यवृद्धि नभएको भए पनि बजारमा म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री वितरण भइरहेको पाएको उहाँले बताउनुभयो । “यहाँका साना व्यापारीले फागुनमा ल्याएको भन्ने चाउचाउको म्याद माघमा नै सकिएको छ”, थापा भन्नुहुन्छ, “ठूला व्यापारीले म्याद गुज्रिएका समान बेच्न ल्याउने गरेको आशङ्का छ, हामीले सम्झाएर छाडेका छौँ ।

 

बरामद भएका सबै सामग्री सरोकारवालाको रोहबरमा नष्ट गरिने थापाले बताउनुभयो । शुक्रबारदेखि शुरु भएको अनुगमनका क्रममा अधिकांश ठाउँमा म्याद गुज्रिएका सामग्री भेटिएपछि गाउँपालिकाका स–साना पसलमा समेत अनुगमन गर्ने योजना गाउँपालिकाले बनाएको छ । अनुगमन टोलीले किराना, फेन्सी, तरकारी तथा फलफूललगायत सबैखाले पसलको अनुगमन गरेको थियो । रासस